५ असार, काठमाडौं । व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा पनि पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालत पाटनले आदेश दिएको छ।
न्यायाधीशद्वय ऋषि राजभण्डारी र सोमकान्त मैनालीको संयुक्त इजलासले शुक्रबार अन्तिम आदेश सुनाउँदै दुवैलाई थुनामै राखेर मुद्दाको सुनुवाइ अघि बढाउन निर्देशन दिएको हो।
यसअघि विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा पनि उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिइसकेको थियो। सोही आदेशअनुसार उनीहरू हाल डिल्लीबजार कारागारमा रहेका छन्।
प्रहरीले दिपक भट्टलाई चैत १९ गते र सुलभ अग्रवाललाई चैत २२ गते पक्राउ गरेको थियो। उच्च अदालतमा विचाराधीन रहेको बैंकिङ कसुर मुद्दामा आएको पछिल्लो आदेशसँगै उनीहरू दुवै उक्त मुद्दामा पनि थुनामै रहेर कानुनी प्रक्रिया सामना गर्ने भएका छन्।





