समाचार

रास्वपा महाधिवेशनअघि प्रतिनिधिबाटै जुट्यो झन्डै २ करोड रुपैयाँ

६ असार, काठमाडौं, । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो महाधिवेशनका लागि प्रतिनिधिहरूबाट मात्रै करिब २ करोड रुपैयाँ संकलन गरेको छ।

शनिबार महाधिवेशनको पूर्वसन्ध्यामा बसेको केन्द्रीय समिति बैठकमा महाधिवेशन व्यवस्थापन उपसमितिकी संयोजक लिमा अधिकारीले प्रतिनिधि सहभागितासम्बन्धी विवरण प्रस्तुत गरेकी थिइन्।

पार्टीका प्रवक्ता मनिष झाका अनुसार हालसम्म ३ हजार ९९० प्रतिनिधिले महाधिवेशनमा सहभागी हुन आवश्यक शुल्क बुझाइसकेका छन्। रास्वपाले प्रत्येक प्रतिनिधिका लागि ५ हजार रुपैयाँ सहभागिता शुल्क निर्धारण गरेको थियो।

सोही आधारमा प्रतिनिधिहरूबाट मात्रै १ करोड ९९ लाख ५० हजार रुपैयाँ संकलन भएको छ। उक्त विवरण निर्वाचन आयोगमा बुझाइसकिएको र रुजु गर्ने प्रक्रिया जारी रहेको पार्टीले जनाएको छ।

रास्वपाको पहिलो महाधिवेशन आइतबारदेखि चितवनमा सुरु हुँदैछ, जहाँ नयाँ नेतृत्व चयनसहित विभिन्न सांगठनिक र नीतिगत विषयमा छलफल हुने कार्यक्रम छ।