अन्तर्राष्ट्रिय

उत्तरपश्चिम पाकिस्तानको बन्नुमा दुई विस्फोटः सात जनाको मृत्यु, तीन घाइते

६ असार, काठमाडौं । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तअन्तर्गत बन्नु जिल्लामा सडक किनारमा भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार यात्रु बोकेको एक निजी पिकअप ट्रकलाई रिमोट–कन्ट्रोल गरिएको ‘इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस’मार्फत लक्षित गरिएको थियो । घाइतेहरूलाई अस्पताल लैजाने क्रममा उद्धारका लागि प्रयोग गरिएको अर्को सवारीसाधनमा पनि दोस्रो विस्फोट हुँदा थप मानवीय क्षति भएको बताइएको छ । दुवै विस्फोटमा तीन जना घाइते भएका छन् ।

घटनाको जिम्मेवारी तत्काल कुनै समूहले लिएको छैन । तर सो क्षेत्रमा तहरिक–ए–तालिवान पाकिस्तान (टिटिपी) सक्रिय रहँदै आएको सुरक्षा निकायले जनाएको छ । पाकिस्तानले देशभित्र पछिल्ला आक्रमणहरू बढ्नुमा छिमेकी अफगानिस्तानको भूमिलाई आधार बनाएर हुने गतिविधिलाई जिम्मेवार ठहर गर्दै आएको छ ।

यता काबुलस्थित तालिवान सरकारले भने आफ्नो भूमि आतङ्कवादी समूहलाई सुरक्षित आश्रयस्थलका रूपमा प्रयोग हुन दिएको भन्ने आरोप अस्वीकार गर्दै आएको छ । दुवै देशबीच पछिल्ला महिनाहरूमा सीमापार तनाव र हिंसात्मक झडपहरू समेत देखिएका छन् । —