ब्रेकिङ न्युज

निष्पक्ष महाधिवेशनका लागि रास्वपाको ४ बुँदे आचारसंहिता लागू

६ असार, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनका लागि निर्वाचन आचारसंहिता जारी गर्दै राजकीय तथा दलीय स्रोतको दुरुपयोग गरी चुनाव प्रभावित पार्न नपाइने स्पष्ट गरेको छ।

आइतबार चितवनमा सुरु हुने महाधिवेशनले नयाँ केन्द्रीय कार्यसमिति चयन गर्नेछ। त्यसका लागि पार्टीले केन्द्रीय निर्वाचन आयोग गठन गर्दै चार बुँदे आचारसंहिता लागू गरेको हो।

आचारसंहिताअनुसार उम्मेदवारी विधिवत् रूपमा प्रमाणित भएपछि मात्रै प्रचारप्रसार गर्न पाइने व्यवस्था गरिएको छ। साथै प्यानल वा गुटबन्दी गरी समूहगत रूपमा उम्मेदवारी प्रस्तुत गर्न नपाइने तथा संयुक्त सूची वितरणमा पनि रोक लगाइएको छ।

त्यस्तै, पार्टी वा सरकारमा रहेका व्यक्तिले राजकीय वा दलीय स्रोतको प्रयोग गरी निर्वाचनको निष्पक्षतामा असर पार्ने कुनै पनि गतिविधि गर्न नपाइने स्पष्ट गरिएको छ।

आचारसंहितामा मतदान प्रक्रिया र उजुरी तथा कारबाही सम्बन्धी व्यवस्थासमेत समावेश गरिएको छ। पार्टीले यी नियमहरू कडाइका साथ लागू गरेर महाधिवेशनलाई निष्पक्ष र व्यवस्थित बनाउने जनाएको छ।