८ असार, काठमाडौँ । पर्यटकीय गन्तव्य ठमेलमा अवाञ्छित गतिविधिमा सङ्लग्न सात विदेशी नागरिकलाई पक्राउ गरिएको छ । प्रहरी वृत्त लैनचौरको टोलीले ठमेलमा सर्वसाधारणलाई दुःख दिने र ड्युटीमा रहेका प्रहरीमाथि नै अभद्र व्यवहार गर्ने सात जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले ठमेलस्थित फायरचोक क्षेत्रमा बाटो हिँड्ने स्वदेशी तथा विदेशी पर्यटक एवं सर्वसाधारण पुरुषलाई अनावश्यक रूपमा बाटो छेक्ने र अश्लील क्रियाकलापमार्फत हैरानी दिइरहेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ पर्नेमा पाँच युगाण्डा र दुई जना भियतनामका नागरिक रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका सातै जनालाई जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए।





