ब्रेकिङ न्युज

किन फैलिदै छ बर्डफ्लु ? काठमाडौं सहित ११ जिल्लामा पुग्यो

९ असार, काठमाडौं । बर्डफ्लु संक्रमण तीब्र फैलिदै गएको छ । अहिलेसम्म काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लुको फैलिएको छ ।

पशु सेवा विभागका अनुसार पछिल्लो तीन महिनाको अवधिमा देशका ८२ स्थानमा बर्डफ्लु पुष्टि भएको हो ।

विभागले जारी गरेको प्रेस विज्ञप्तिअनुसार २०८२ साल चैत ४ गते मोरङबाट सुरु भएको बर्डफ्लु संक्रमण हाल झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक गरी ११ जिल्लामा फैलिएको हो ।

बर्डफ्लु नियन्त्रण तथा रोकथामका क्रममा हालसम्म ठूलो संख्यामा पन्छी तथा पन्छीजन्य सामग्री नष्ट गरिएको विभागले जनाएको छ । विभागका अनुसार संक्रमित क्षेत्रमा रहेका ५ लाख ६९ हजार ८५८ पन्छी नष्ट गरिएको छ । त्यस्तै, ९ लाख ८९ हजार ३१३ अण्डा र १ लाख ९५ हजार ४८५ केजी दाना सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ ।

पशु सेवा विभागका महानिर्देशक डा। उमेश दाहालका अनुसार कोसी प्रदेशका झापा, मोरङ र सुनसरीसहित बारा, महोत्तरी, चितवन र नवलपरासीमा बर्डफ्लु नियन्त्रणमा आइसकेको छ । यसअघि कोसी प्रदेशमा रोग नियन्त्रणका लागि गृह मन्त्रालयको समन्वयमा लगाइएको एक महिने पन्छी ओसारपसार प्रतिबन्धसमेत खुकुलो बनाइएको छ ।

तर, काठमाडौं, ललितपुर र भक्तपुरसँगै काभ्रेपलाञ्चोकका केही क्षेत्रमा भने पछिल्लो समय संक्रमण बढ्दो क्रममा रहेको विभागले जनाएको छ । देशमा देखिएको भाइरसको स्वरूपमा कुनै परिवर्तन आएको छ वा छैन भन्ने अध्ययनका लागि भाइरसको ‘सिक्वेन्सिङ’ गर्ने काम राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको समन्वयमा सुरु गरिएको विभागले जानकारी दिएको छ ।

बर्डफ्लु नियन्त्रणका लागि विभागले उपमहानिर्देशकको नेतृत्वमा ‘बर्डफ्लु रोग नियन्त्रण कक्ष’ स्थापना गरेको छ । संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी आवश्यक जनशक्ति परिचालन गरिएको विभागले जनाएको छ । रोग पुष्टि भएका स्थानमा आकस्मिक रोग अन्वेषण टोली र द्रूत कार्यदल परिचालन गरी संक्रमित पन्छी तथा सामग्री नष्ट गर्ने काम भइरहेको विभागले जनाएको छ ।

परीक्षणका क्रममा बर्डफ्लुका साथै ‘लो प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’, रानिखेत र इकोलाईजस्ता रोगसमेत देखिएको विभागले जनाएको छ । यसले गर्दा पन्छीपालक किसानलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

विभागले फार्ममा जैविक सुरक्षाका उपाय कडाइका साथ लागु गर्न, पुराना अण्डाका कागजका क्रेट पुनः प्रयोग नगर्न, जंगली पन्छी र घरपालुवा पन्छीबीच सम्पर्क हुन नदिन तथा दाना र पानीमा समेत सावधानी अपनाउन किसानलाई अनुरोध गरेको छ ।

त्यस्तै, पन्छी तथा पन्छीजन्य सामग्री ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिनुपर्ने विभागले जनाएको छ । कुनै फार्म वा बिक्रीस्थलमा अस्वाभाविक रूपमा धेरै पन्छी बिरामी भएमा वा एकैपटक ठूलो संख्यामा पन्छी मरेमा तत्काल नजिकको पशु सेवा कार्यालयमा जानकारी गराउनसमेत विभागले आग्रह गरेको छ ।