समाचार

उपभोक्ताको गुनासोपछि अनुगमन, होटललाई ३ लाख जरिवाना

९ असार, काठमाडौं । भरतपुर महानगरपालिका–१० स्थित लर्ड्स बिजनेस कम्प्लेक्स होटल प्रालिलाई उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी गुणस्तरहीन खाद्य सामग्री प्रयोग गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय चितवनले ३ लाख रुपैयाँ जरिवाना गरेको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले सोमबार जारी गरेको सूचना अनुसार उपभोक्ताबाट प्राप्त गुनासोका आधारमा सहायक प्रमुख जिल्ला अधिकारीसहितको अनुगमन टोलीले होटलमा निरीक्षण गरेको थियो।

अनुगमनका क्रममा होटलले गुणस्तरहीन खाने तेल प्रयोग गरेको, तरकारीको ताजापनमा ध्यान नदिएको तथा उपभोक्ताको स्वास्थ्यमा असर पुग्ने खालका खाद्य सामग्री प्रयोग गरी खाना उपलब्ध गराएको पाइएको प्रशासनले जनाएको छ।

उक्त कार्य उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीत रहेको ठहर गर्दै सहायक प्रमुख जिल्ला अधिकारी (निरीक्षण अधिकृत) को निर्णयअनुसार होटललाई ३ लाख रुपैयाँ जरिवाना गरिएको हो।

साथै, बरामद गरिएका गुणस्तरहीन खाद्य सामग्रीहरू नष्ट गर्ने निर्णयसमेत गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।