ब्रेकिङ न्युज

रास्वपाको नयाँ नेतृत्व चयन प्रक्रिया तीव्र, उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक

१० असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका नेताहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले बुधबार प्रारम्भिक नामावली सार्वजनिक गर्दै निर्वाचन प्रक्रियालाई थप अघि बढाएको हो। नामावली सार्वजनिक भएसँगै महाधिवेशनस्थलमा चुनावी गतिविधि झन् तीव्र बनेको छ।

चितवनमा जारी महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया जारी रहे पनि बिहान ९ बजेदेखि सुरु हुने भनिएको मतदान समाचार तयार पार्दासम्म सुरु हुन सकेको छैन। मतदान ढिलाइ हुनुको कारणबारे निर्वाचन आयोगले औपचारिक जानकारी भने दिएको छैन।

यसअघि पार्टी सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्। सभापति पदको टुंगो लागिसकेपछि अहिले केन्द्रीय सदस्यसहित अन्य पदका लागि निर्वाचन प्रक्रिया केन्द्रित बनेको छ।

महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्वले आगामी दिनमा पार्टीको संगठन विस्तार, नीति निर्माण र राजनीतिक दिशा तय गर्ने अपेक्षा गरिएको छ। निर्वाचन आयोगले उम्मेदवारहरूको अन्तिम नामावली तथा मतदान सम्बन्धी थप विवरण क्रमशः सार्वजनिक गर्ने जनाएको छ।