समाचार

रास्वपा निर्वाचनमा अर्को मोड, मतदान समय पुनः परिवर्तन

१० असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य निर्वाचनको मतदान समय पुनः परिवर्तन गरिएको छ। यसअघि बेलुकी साढे ७ बजे सुरु हुने भनिएको मतदान अब साढे ८ बजेदेखि सञ्चालन हुने भएको छ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले निर्वाचन तयारीलाई अन्तिम रूप दिन थप समय आवश्यक परेकाले मतदानको समय एक घण्टा पछाडि सारिएको जनाएको छ।

महाधिवेशनको बन्दसत्र सम्पन्न भइसकेको छ भने अहिले निर्वाचन प्रक्रियाका अन्तिम तयारीहरू भइरहेको छ। मतदानका लागि ७५ वटा विद्युतीय मेसिन व्यवस्थापन गरिएको आयोगले जनाएको छ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार एक जना मतदाताले केन्द्रीय सदस्य चयनका लागि मतदान गर्न औसत ७ देखि १० मिनेटसम्म समय लाग्ने अनुमान गरिएको छ। सोही आधारमा सम्पूर्ण मतदान प्रक्रिया सम्पन्न गर्न करिब चार घण्टा लाग्न सक्ने आकलन गरिएको छ।

मतदान सम्पन्न भएपछि मतगणना प्रक्रिया तत्काल सुरु गरिने र करिब दुई घण्टाभित्र नतिजा सार्वजनिक गर्ने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ।

रास्वपाको पहिलो महाधिवेशनबाट नयाँ केन्द्रीय नेतृत्व चयन हुने भएकाले निर्वाचनलाई पार्टीभित्र निकै चासोका साथ हेरिएको छ।