अन्तर्राष्ट्रिय

समझदारीपत्र उल्लङ्घन भए जवाफ दिने इरानको चेतावनी

१६ असार, तेहरान । मध्यपूर्वमा युद्ध अन्त्य गर्ने उद्देश्यले गरिएको समझदारीपत्र (एमओयू)को अमेरिकाले कुनै पनि उल्लङ्घन गरे त्यसको जवाफ दिइने इरानले चेतावनी दिएको छ ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाइले मङ्गलबार आयोजित नियमित पत्रकार सम्मेलनमा समझदारीपत्रको उल्लङ्घन भए त्यसलाई बेवास्ता नगरिने बताए । “हामी कुनै पनि कार्यलाई अनुत्तरित छोड्ने छैनौँ । इस्लामिक गणतन्त्र इरानका उद्देश्यविरुद्ध हुने कुनै पनि आक्रामक कदमको तत्काल र निर्णायक जवाफ दिइनेछ,” उनले भने । प्रवक्ता बकाइले त्यस्ता गतिविधि समझदारीपत्रको पहिलो धाराको उल्लङ्घन हुने बताउँदै उल्लङ्घन दोहोरिएमा सम्झौता कार्यान्वयन प्रक्रियाअघि बढाउन कठिनाइ उत्पन्न हुनसक्ने चेतावनी दिए । यसैबीच, उक्त समझदारी कार्यान्वयनका विषयमा छलफल गर्न दुवै पक्षका प्रतिनिधिमण्डलबीच कतारमा अप्रत्यक्ष वार्ता हुने अपेक्षा गरिएको छ । पछिल्लो घटनाक्रमले मध्यपूर्वमा जारी तनाव कम गर्ने प्रयासमा नयाँ चुनौती थपिन सक्ने देखिएको छ ।