२० असार, काठमाडौं । अन्तरराष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)ले युक्रेन युद्ध सुरु भएयता जापोरिज्जिया आणविक ऊर्जा केन्द्र (जेडएनपीपी) मा २१औँ पटक बाह्य विद्युत आपूर्ति अवरुद्ध भएको जनाएको छ । एजेन्सीले यस घटनाले केन्द्रको आणविक सुरक्षा अवस्था अझै अत्यन्त कमजोर रहेको देखाएको बताएको छ ।
आईएईएका अनुसार प्लान्टलाई ‘३३० केभी फेरोस्प्लाभ्ना–१’ प्रसारण लाइनसँग जोड्ने विद्युत सम्पर्क विच्छेद भएपछि बाह्य विद्युत आपूर्ति बन्द भएको हो । प्लान्टमा खटिएको आईएईएको निरीक्षण टोलीले सैन्य गतिविधिका कारण प्रसारण लाइनका विद्युतीय सुरक्षा प्रणाली सक्रिय हुँदा विद्युत प्रवाह स्वतः अवरुद्ध भएको जनाएको छ ।
बाह्य विद्युत आपूर्ति बन्द भएपछि रिएक्टर शीतलन प्रणाली तथा अन्य अत्यावश्यक आणविक सुरक्षा प्रणालीलाई निरन्तर विद्युत उपलब्ध गराउन आपत्कालीन डिजेल जेनेरेटर स्वतः सञ्चालनमा आएको आइएईएले जनाएको छ । आइएईएका महानिर्देशक राफेल ग्रोसीले पछिल्लो घटनाले जापोरिज्जिया आणविक केन्द्रको सुरक्षा अवस्था अझै अत्यन्त संवेदनशील रहेको पुनः पुष्टि गरेको बताए ।
उहाँले सम्भावित आणविक दुर्घटना रोक्न सबै पक्षले अधिकतम सैन्य संयमता अपनाउनुपर्नेमा जोड दिए । युरोपकै सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्रमध्ये एक मानिने जापोरिज्जिया केन्द्रमा युक्रेन युद्ध सुरु भएदेखि नै बाह्य विद्युत आपूर्तिमा पटक–पटक अवरोध हुँदै आएको छ । —





