२० असार, काठमाडौं । नेकपा (एमाले)का सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङप्रति एमालेले ‘राजनीतिक हिसाब’ राखेको भन्दै कडा चेतावनी दिएका छन्।
ललितपुरमा शनिबार आयोजित एमालेको ‘पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रममा बोल्दै बस्नेतले सरकार गठनलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्ने अभिव्यक्ति आएको उल्लेख गर्दै त्यसको जवाफ समयमै दिइने दाबी गरे।
उनले एमाले नेतृत्वविरुद्ध राज्य संयन्त्र र डिजिटल माध्यमको प्रयोग गरेर योजनाबद्ध रूपमा भ्रम फैलाउने प्रयास भइरहेको आरोप लगाए। अध्यक्ष ओली र उपाध्यक्ष विष्णु पौडेलमाथि आधारहीन र प्रतिशोधपूर्ण आरोप लगाइएको उनको भनाइ थियो।
बस्नेतले केही अनलाइन प्लेटफर्म र संस्थाहरू विदेशी प्रभावमा परिचालित भएको दाबी गर्दै उनीहरू नेपालविरुद्धका गतिविधिमा संलग्न रहेको आरोप पनि लगाए। उनले यस्ता गतिविधिमाथि छानबिन गरी संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्ने धारणा व्यक्त गरे।
साथै, भदौ २३ र २४ गते भएका हिंसात्मक घटनामा संलग्न व्यक्तिहरूलाई सत्ताको संरक्षण मिलिरहेको आरोप लगाउँदै बस्नेतले दोषीमाथि कारबाही हुनुपर्ने माग गरे।





