२१ असार, काठमाडौं । बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गतको टोखा चण्डेश्वरी अस्पताल, काठमाडौंले विभिन्न पदका लागि करार सेवामा कर्मचारी माग गरेको छ।
अस्पतालले आ.व. २०८३/८४ का लागि चिकित्सक तथा स्वास्थ्यकर्मी करार सेवा व्यवस्थापन कार्यविधि–२०७८ बमोजिम पदपूर्तिका लागि आवेदन आह्वान गरेको हो। सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र योग्य नेपाली नागरिकहरूले तोकिएको ढाँचामा दरखास्त बुझाउनुपर्ने अस्पताल प्रशासनले जनाएको छ।
विज्ञापन अनुसार मेडिकल अधिकृत (८औँ तह) १ जना, रेडियोग्राफर १ जना, हेल्थ असिस्टेन्ट १ जना, स्टाफ नर्स १ जना, ल्याब असिस्टेन्ट २ जना र फार्मेसी सहायक १ जनाको आवश्यकता रहेको छ।
आवेदनका लागि सम्बन्धित विषयमा लोकसेवा आयोगले निर्धारण गरेको न्यूनतम शैक्षिक योग्यता अनिवार्य गरिएको छ। अधिकृत तहका लागि २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको तथा सहायक तहका लागि १८ वर्ष पूरा भएको हुनुपर्ने सूचनामा उल्लेख छ। साथै सम्बन्धित काउन्सिलमा दर्ता तथा नवीकरण अनिवार्य गरिएको छ।
अन्तर्वार्ताका आधारमा छनोट गरिने जनाइएको छ। करार सम्झौता स्थायी दरबन्दी पूर्ति भएमा वा सरुवा भई स्थायी कर्मचारी आएमा स्वतः समाप्त हुने व्यवस्था रहेको छ।
सेवा अवधि आर्थिक वर्ष २०८३/८४ को असार मसान्तसम्म रहनेछ भने कार्यसम्पादन मूल्याङ्कन र बजेट उपलब्धताका आधारमा म्याद थप गर्न सकिनेछ।
दरखास्त दस्तुर अधिकृत तहका लागि रु. १,२०० र सहायक तहका लागि रु. ७०० तोकिएको छ। रकम राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गरी भौचर दरखास्तसँगै पेश गर्नुपर्नेछ।
थप जानकारीका लागि अस्पतालको फोन नम्बर ०१-५११००८९ वा ९८५१४२९२३५ मा सम्पर्क गर्न सकिनेछ। अस्पतालको वेबसाइटमार्फत पनि विवरण उपलब्ध गराइएको छ।






