२६ असार, काठमाडौं । बुधबार राति गणेश नेपालीले दाइलाई उठाउँदै भनेका थिए, “दाइ, उठ्नुस् न, खसीको खुट्टा पकाऔँ।” रात धेरै भएकाले दाइले भोलि सँगै खाने भन्दै सम्झाए। तर त्यो ‘भोलि’ कहिल्यै आएन।
मुगुका २५ वर्षीय गणेश नेपाली भोलिपल्ट बिहान परिवारको गुजारा चलाउन पठाओ चलाउन निस्किए। केही घण्टापछि भने दाइको मोबाइलमा आएको एउटा फोनले परिवारको संसार नै उजाडियो। त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि महानगर प्रहरीसँग भएको विवादपछि उनले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए।
वीर अस्पतालमा करिब २० घण्टा जीवनसँग संघर्ष गरेका गणेशले अन्तिम क्षणमा दाइलाई केवल यति भने, “दाइ… मेरो गल्ती थिएन है। बाबा–आमालाई राम्रो गर्नु।” त्यसपछि उनको आवाज सधैंका लागि रोकियो।
लोकसेवामा पटक–पटक प्रयास गर्दा पनि सफल हुन नसकेपछि गणेशले परिवारको भविष्यका लागि विदेश जाने सपना बुन्दै थिए। दृष्टिविहीन बुबा, श्रीमती र दुई वर्षीया छोरीको जिम्मेवारी उनकै काँधमा थियो। किस्तामा मोटरसाइकल किनेर दिनरात मेहनत गरिरहेका उनले परिवारको जीवन बदल्ने आशा राखेका थिए, तर त्यो सपना अधुरै रह्यो।
उपचारका क्रममा शुक्रबार बिहान उनको निधन भएपछि परिवारले निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै शव बुझ्न अस्वीकार गरेको छ। घटनाबारे प्रहरीले तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।





