ब्रेकिङ न्युज

‘सबै प्रयास गर्‍यौं’ भन्ने सरकारलाई संसद्को प्रतिप्रश्न – त्यसो भए ज्यान किन जोगिएन ?

२६ असार, काठमाडों । मुगुका २५ वर्षीय गणेश नेपालीको आत्मदाहपछि उपचारका क्रममा भएको निधनले प्रतिनिधिसभामा तीव्र बहस चर्किएको छ। विपक्षी दलका सांसदहरूले सरकारको कार्यशैली, युवा रोजगारीको अवस्था र घटनाप्रतिको जिम्मेवारीबारे कडा प्रश्न उठाएका छन् भने गृहमन्त्री सुधन गुरुङले सरकार गणेश नेपालीको ज्यान बचाउन अन्तिम क्षणसम्म सक्रिय रहेको दाबी गरेका छन्।

संसद्मा बोल्दै गृहमन्त्री गुरुङले गणेश नेपालीलाई भारत उपचारका लागि पठाउने तयारीदेखि एयर एम्बुलेन्स, विशेषज्ञ चिकित्सक र सुरक्षा संयन्त्र परिचालनसम्म राज्यले सबै सम्भावित प्रयास गरेको बताए। उनले घटनाको निष्पक्ष अनुसन्धानका लागि डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको र महानगर प्रहरीमाथि समेत अनुसन्धान भइरहेको जानकारी दिए।

यता विपक्षी सांसदहरूले सरकारले समयमै प्रभावकारी निर्णय लिन नसक्दा एउटा युवाको ज्यान गएको आरोप लगाए। केही सांसदहरूले अत्यधिक ट्राफिक जरिवाना, बेरोजगारी र राज्यप्रतिको निराशालाई घटनाको मुख्य कारणका रूपमा प्रस्तुत गर्दै सरकारलाई नैतिक जिम्मेवारी लिन आग्रह गरे।

बहसका क्रममा गृहमन्त्री गुरुङले संसद्मा केवल आरोप लगाएर जनताको सेवा नहुने भन्दै आफूहरू रातभर गणेश नेपालीको उपचारका लागि खटिएको दाबी गरे। उनले आफूले गरेको सक्रियतालाई ‘स्टन्टबाजी’ भनिएकोप्रति असन्तुष्टि जनाउँदै विपक्षी दलले तथ्यभन्दा राजनीति गरेको आरोपसमेत लगाए।

गणेश नेपालीको दुःखद निधनपछि संसद्मा सरकार र विपक्षबीच आरोप–प्रत्यारोप चर्किए पनि यो घटनाले युवा निराशा, राज्यको जिम्मेवारी र सार्वजनिक सेवाको प्रभावकारितामाथि गम्भीर बहस सुरु गराएको छ।