ब्रेकिङ न्युज

गणेश नेपालीको परिवारका लागि के–के गर्दैछ महानगर ?

२६ असार, काठमाडों ।  राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि काठमाडौँ महानगरपालिकाले घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ। महानगरले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै घटनाको निष्पक्ष छानबिनमा पूर्ण सहयोग गर्ने जनाएको छ।

महानगरपालिकाले जारी गरेको विज्ञप्तिमा नेपाल सरकार, गृह मन्त्रालयले गठन गर्ने छानबिन समितिको तथ्यगत अनुसन्धानमा सहकार्य गर्ने उल्लेख गरिएको छ। छानबिनबाट प्राप्त सुझावका आधारमा आवश्यक सुधारात्मक र जिम्मेवार कदम चालिने महानगरको भनाइ छ।

यस्ता घटना भविष्यमा दोहोरिन नदिन नेपाल सरकारसँग समन्वय गरेर समाधानका उपाय खोज्ने र प्रभावकारी अभ्यास कार्यान्वयनमा लैजाने प्रतिबद्धता पनि महानगरले जनाएको छ।

गणेश नेपालीको परिवारलाई मानवीय सहयोग उपलब्ध गराउने, रोजगारीको व्यवस्था गर्ने तथा उनका सन्ततिलाई निःशुल्क शिक्षा दिने विषयमा आगामी कार्यपालिका बैठकबाट कानुनी प्रक्रिया पूरा गरी निर्णय गरिने महानगरले जनाएको छ।

यसअघि राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका नेपालीको उपचारका क्रममा निधन भएको थियो। घटनाबारे अहिले सरकारीस्तरबाट समेत छानबिन प्रक्रिया अघि बढाइएको छ।