२७ असार, काठमाडौं । आइतबार र सोमबार देशका विभिन्न स्थानमा भारी वर्षा हुने भएको छ।
जल तथा मौसम विज्ञान विभाग विभागले आज उक्त जानकारी दिएको हो। विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई भू-भाग नजिक रहेको छ।
आइतबार र सोमबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानमा तथा मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू-भागको एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।
कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ।
मनसुन सक्रिय भई भारीदेखि अति भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न विभागले आग्रह गरेको छ।
साथै ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन र पछिल्लो सूचनामा अद्यावधिक रहन विभागले आग्रह गरेको छ।





