ब्रेकिङ न्युज

विकासको नाममा मृत्युको यात्रा !

२७ असार, काठमाडौं । दैलेखको चामुण्डाबिन्द्रासैनी क्षेत्रमा कर्णाली नदीमा फोर्स गाडी खसेको घटना अझै रहस्यमै छ। दुर्घटनाको धेरै दिन बितिसक्दा पनि गाडी र केही बेपत्ता यात्रुको खोजी जारी रहेकाले यो घटनाले फेरि एकपटक कर्णालीका सडकको असुरक्षित अवस्थामाथि गम्भीर प्रश्न उठाएको छ।

खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी १७६ भन्दा बढी सुरक्षाकर्मी, गोताखोर, ड्रोन र अन्य उद्धार उपकरण परिचालन गरिए पनि नदीको तीव्र बहाव र धमिलो पानीका कारण अभियान चुनौतीपूर्ण बनेको छ। केही शव फेला परे पनि अझै सबै यात्रुको अवस्था खुलेको छैन।

यो एकमात्र दुर्घटना होइन। कर्णालीमा विगत दुई दशकदेखि भइरहेका ठूला सडक दुर्घटनाले सयौँ परिवारलाई शोकमा डुबाएको इतिहास छ। दैलेख, कालिकोट, मुगु, जाजरकोट, जुम्ला र सुर्खेतका विभिन्न सडकखण्डमा भएका भीषण दुर्घटनामा दर्जनौँ मानिसले एकैपटक ज्यान गुमाएका घटनाहरू अझै ताजा छन्।

प्रदेश प्रहरीको तथ्याङ्कअनुसार पछिल्लो १२ वर्षमा कर्णालीमा ६,०६२ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा १,३७४ जनाले ज्यान गुमाएका छन् भने ७ हजारभन्दा बढी गम्भीर घाइते भएका छन्। पछिल्ला तीन आर्थिक वर्षमै दुर्घटनाको संख्या उल्लेखनीय रूपमा बढेको देखिन्छ।

सडक विज्ञ र प्रहरी अधिकारीहरूका अनुसार साँघुरा तथा जीर्ण सडक, ट्राफिक संकेतको अभाव, पुराना सवारी, क्षमताभन्दा बढी यात्रु, तीव्र गति, चालकको लापरबाही र कमजोर उद्धार प्रणाली कर्णालीका सडक दुर्घटनाका मुख्य कारण हुन्। दुर्घटना भएपछि दुर्गम भूगोलका कारण समयमै उद्धार गर्न नसक्दा मानवीय क्षति अझ बढी हुने गरेको उनीहरूको भनाइ छ।

सडक सुरक्षा सुधारका लागि विगतमा विभिन्न कार्यक्रम घोषणा गरिए पनि अधिकांश योजना प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको देखिन्छ। त्यसैले कर्णालीका नागरिकले अहिले पनि सुरक्षित यात्राभन्दा बढी दुर्घटनाको जोखिम बोकेर यात्रा गर्न बाध्य छन्।

बारम्बार दोहोरिने यस्ता दुर्घटनाले कर्णालीका सडकलाई विकासको प्रतीकभन्दा पनि ‘मृत्युमार्ग’ का रूपमा चिनाउन थालेका छन्। सुरक्षित सडक निर्माण, प्रभावकारी अनुगमन र शीघ्र उद्धार प्रणालीको माग अहिले फेरि जोडदार रूपमा उठ्न थालेको छ।