४ साउन, काठमाडौं । बालेन शाह नेतृत्वको सरकारले आवश्यक परेमा विभिन्न निकायमा सरकारी कर्मचारी भर्ना खुला गरिने स्पष्टीकरण दिएको छ ।
आज साँझ एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आवश्यक परेका निकायमा लोक सेवा आयोगमार्फत स्थायी कर्मचारी भर्ना प्रक्रिया नियमित रहने प्रस्ट पारेको हो ।
मन्त्रालयहरूको संख्या घटाएर १८ कायम गरेपछि विभिन्न पदहरूको दरबन्दी हालको भन्दा घट्न सक्ने भएकाले केही कर्मचारी फाजिलमा पर्न सक्ने अवस्था छ ।
फाजिलमा पर्ने कर्मचारीहरूको व्यवस्थापनलाई प्राथमिकता दिँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पूर्वस्वीकृतिबिना स्थायी पदपूर्तिका लागि लोक सेवा आयोगमा माग नपठाउने निर्णय गरिएको छ ।
यद्यपि फाजिल कर्मचारीको व्यवस्थापन सम्पन्न भएपछि रिक्त भएका पद वा संगठन तथा व्यवस्थापन सर्वेक्षणबाट स्वीकृत नयाँ दरबन्दीका रिक्त पदहरूमा भने नियमित प्रक्रियाअनुसार नै लोक सेवा आयोगमार्फत स्थायी पदपूर्ति गरिने सरकारले प्रस्ट पारेको हो ।






