राजनीति

बिदेशबाट देउवाको सन्देश : म नेपाल फर्कदैछु, सरकार प्रतिशोधात्मक बन्न सक्छ

५ साउन, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू छिट्टै नेपाली भूमिमा पाइला टेक्न लागेको जानकारी दिएका छन् ।

बीपी स्मृति दिवसको पूर्वसन्यामा प्रेस विज्ञप्ति जारी गर्दै देउवाले स्वदेश फर्किन लागेको जानकारी दिएका हुन् ।

उनी अहिले उपचारका लागि देशबाहिर छन् । म नेपाली भूमिमा पुनः पाइला टेक्दै छु । सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्छ, तर म नेपाली जनताको लोकतान्त्रिक चेतना, राष्ट्रप्रेम र न्यायप्रतिको विश्वासमाथि पूर्ण आस्था र समर्पण भाव राख्छु । राष्ट्रियता, प्रजातन्त्र र समाजवाद साथै संविधानवादको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण राजनीतिक शक्ति, नागरिक समाज, युवा पुस्ता तथा आम नेपाली जनतासँग हार्दिक आग्रह गर्दै, आफ्नो निष्ठा, प्रतिबद्धता र समर्पणभावप्रति फेरि एकपटक विश्वास दिलाउँदै म स्वदेश फर्कंदैछुु, सन्देशमा देउवाले भनेका छन् ।

सन्देशमा देउवाले प्रजातन्त्र बलियो बनाउन मेलमिलापको नीति आवश्यक रहेको भन्दै सरकारको आलोचना गरेका छन् । प्रजातन्त्रमा प्रतिपक्षका आवाज थुन्न नसकिने उनको भनाइ छ।

देउवाले लोकतन्त्र, संविधान र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण राजनीतिक शक्ति, नागरिक समाज, युवा तथा आम नेपालीलाई आह्वान गरेका छन् । उनले राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र मेलमिलापको नीति आज पनि नेपाली कांग्रेसको मार्गदर्शक सिद्धान्त रहेको बताएका छन् । उनले बीपीको नेतृत्वमा राजनीतिक यात्रा सुरु गर्न पाएको अवसरलाई आफ्नो जीवनको सबैभन्दा ठूलो सौभाग्य भएको उल्लेख गरेका छन् ।

देउवाले विगत छ दशकभन्दा लामो राजनीतिक यात्रामा निरंकुशता, अधिनायकवाद र लोकतन्त्रविरोधी शक्तिविरुद्ध निरन्तर संघर्ष गरेको स्मरण गर्दै लोकतन्त्र र जनअधिकारको पक्षमा आफ्नो अडान कहिल्यै नबदलिएको बताएका छन् ।

सन्देशमा उनले पछिल्ला राजनीतिक घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गर्दै फरक विचारप्रतिको असहिष्णुता, राज्यशक्तिको प्रतिशोधपूर्ण प्रयोग तथा राजनीतिक पूर्वाग्रहका आधारमा हुने दमन लोकतान्त्रिक समाजका लागि स्वीकार्य हुन नसक्ने बताएका छन् ।

देउवाले वर्तमान सरकारले प्रतिपक्षप्रति प्रतिशोधको राजनीति अघि बढाएको आरोप लगाउँदै स्वतन्त्र न्यायपालिका र संवैधानिक संस्थामाथि दबाब सिर्जना गर्ने संकेत देखिएको दाबी गरेका छन् । न्यायपालिका तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कार्यकारी नियन्त्रणको औजार बनाउन खोजिएको उनको आरोप छ ।

उनले लोकतन्त्रको रक्षा गर्नु नै राष्ट्रको रक्षा भएको उल्लेख गर्दै नेपाली कांग्रेसमाथि लोकतन्त्र, संविधान, राष्ट्रियता तथा जनताको सुरक्षाको अनुभूति जोगाउने ऐतिहासिक जिम्मेवारी थपिएको बताएका छन् ।

सन्देशमा बीपी कोइरालाको राष्ट्रिय मेलमिलाप नीतिलाई स्मरण गर्दै देउवाले अहिले देशलाई विभाजनभन्दा एकता, अविश्वासभन्दा विश्वास र प्रतिशोधभन्दा सहकार्य आवश्यक रहेको बताएका छन् । नयाँ पुस्ताको ऊर्जा, प्रविधि र ज्ञानलाई लोकतान्त्रिक मूल्यसँग जोडेर साझा राष्ट्रिय अभियान अघि बढाउनुपर्नेमा उनले जोड दिएका छन् ।

स्वदेश फर्किन लागेको जानकारी दिँदै देउवाले सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्ने भए पनि नेपाली जनताको लोकतान्त्रिक चेतना, राष्ट्रप्रेम र न्यायप्रतिको विश्वासमाथि आफू पूर्ण रूपमा आशावादी रहेको बताएका छन् । साथै राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र संविधानवादको पक्षमा एकजुट हुन सबै राजनीतिक शक्ति तथा नागरिक समाजलाई आग्रह गरेका छन्