समाचार

हेलिकप्टरमार्फत उद्धार गरियो तर बचेन सुत्केरीको ज्यान, बच्चाको केछ अवस्था ?

७ साउन, काठमाडौं । बागलुङको निसीखोला गाउँपालिका–३ की ३९ वर्षीया सुत्केरी मीना सुनारको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ ।


स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई हिजो बिहान नेपाली सेनाको हेलिकप्टरबाट पोखरा ल्याइएको थियो । अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले सुनारलाई मृत घोषणा गरेको जनाइएको छ ।

गम्भीर अवस्थामा बुर्तिबाङ अस्पताल ल्याइएकामा त्यहाँ उपचार हुन नसकेपछि पोखरा पठाइएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। अविनाश पोखरेलले बताए । मङ्गलबार बोहरागाउँ स्वास्थ्यचौकीमा सुत्केरी भएकी उनलाई राति अत्यधिक रक्तस्राव हुने, पेट दुख्ने समस्या भएपछि बुर्तिबाङ अस्पतालमा ल्याइएको थियो ।

बुर्तिबाङ अस्पतालमा प्रारम्भिक प्ररीक्षण गर्दा सुनारको पेटमा रगत जमेको पाइएको थियो । उनी प्राकृतिक रूपमा सुत्केरी भएको र शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

शुरूमा काठमाडौं लैजाने तयारी भए पनि स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि मणिपाल अस्पतालमा ल्याइएको थियो ।