पु.समाचार

चिकित्सक सङ्घको चुनाव जारी

काठमाडौँ । नेपाल चिकित्सक सङ्घको काठमाडौँ उपत्यकामा सुरु भएको दोस्रो चरणको चुनाव आज दोस्रो दिन पनि जारी छ । पहिलो दिनको चुनावमा २०५ जना चिकित्सकले मतदान गरेका छन्।

उपत्यकामा चुनाव यही भदौ २५ गते शनिबारसम्म जारी रहनेछ । उपत्यकामा करिब तीन हजार मत खस्ने प्रमुख निर्वाचन अधिकृत डा धनबहादुर रानामगरले बताए। चुनाव हरेक दिन ११ देखि ४ बजेसम्म हुनेछ । नयाँ नेतृत्व छान्नका लागि पहिलो चरणमा गत १७ र १८ भदौमा उपत्यकाबाहिरका १५ मतदान केन्द्रमा निर्वाचन भइसकेको छ । उपत्यकाबाहिर कुल एक हजार ३६६ मत खसेको छ ।

सङ्घको नयाँ कार्यसमितिका लागि प्रजातन्त्रिक समूहबाट डा मुक्तिराम श्रेष्ठ र समावेशी समूहबाट डा रमेश ढकालको टोली प्रतिस्पर्धामा छ ।

महासचिवमा डा पुष्पमणि खरेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने १३ पदाधिकारीका लागि दुईवटा प्यानलबाट २६ र एकजना स्वतन्त्र गरी २७ जनाले चुनावी प्रतिस्पर्धा गर्दै छन्।