पु.समाचार

सर्वोच्च अदालतको सरकारलाई फेरि अर्को आदेश

काठमाण्डौ । सर्वोच्च अदालतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ती सम्बन्धमा भएको निर्णय नपठाए अवहेलनामा कारबाही हुने आदेशसहितको पत्र बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पठाएको छ ।

सर्वोच्चले एउटै व्यवहोराको आदेश सामान्य प्रशासन मन्त्रालयलाई समेत पठाएको छ। प्रमुख आयुक्त कार्कीविरूद्ध दायर रिटको पुनरावलोकनमा प्रधानन्यायाधीश शुसीला कार्की, न्यायाधीश विश्वम्भरप्रकाश श्रेष्ठ र सपना मल्ल प्रधानको पूर्ण इजलासले गत भदौ ३१ गते प्रमुख आयुक्त नियुक्तिका लागि भएको निर्णय र २०६२/६३ को जनआन्दोलनपछिको तत्कालिन मुख्यसचिवको हैसियतमा सामान्य प्रसाशन मन्त्रालयले स्पष्टीकरण पेश गर्न सरकारलाई आदेश दिएको थियो ।

सात दिनसम्म पनि नियुक्तिको फाइल नपठाए अवहेलनामा कारबाही हुने चेतावनीसमेत आदेशमा दिएको थियो। ‘आदेशसहितको खामबन्दी बुधबारै प्रधानमन्त्री कार्यालय र सामान्य प्रशासन मन्त्रालयमा पठाइएको छ,’ सर्वोच्चमा प्रशासनका एक अधिकारीले भने,‘आदेश पाएको मितिले सात दिनभित्र निर्णओय पठाउने कानुनी म्याद हुन्छ। निर्णय नआए के गर्ने भनेर त्यसपछि मात्र इजलासले प्रक्रिया अघि बढाउँछ।’

अति गोप्य भन्दै छाप लगाइएको खामबन्दी बुधबार साँझ ५ बजे सर्वोच्च प्रशासनबाट चलानी भएको थियो । उक्त आदेश बुधबारै प्रधानमन्त्री कार्यालयमा पुगेको भन्दै बिहीबारको अन्नपूर्ण पोष्टमा समाचार प्रकाशित छ ।