समाचार

साउनको पहिलो सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो, चारै ढोका खुले (तस्विरहरुसहित)

४ साउन, काठमाडौँ । यस वर्षको साउन महिनाको पहिलो सोमबार आज बिहानैदेखि काठमाडौँको पशुपतिनाथलगायत मुलुकभरका शिवालयहरूमा दर्शनार्थीहरूको ठूलो घुइँचो लागेको छ। साउने झरीको प्रवाह नगरी श्रद्धालुहरू बिहानैदेखि मन्दिर पुगेका छन्।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठका अनुसार दर्शनार्थीको सहजताका लागि बिहान ३:०० बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै वटा ढोका खुला गरिएको छ। मन्दिरका ढोकाहरू बेलुका आरतीपछि ८:०० बजेसम्म खुला रहनेछन् भने विशेष पूजाको समय बिहान ८:३० देखि मध्याह्न १२:०० बजेसम्म मात्र तोकिएको छ।

दर्शनार्थीहरूका लागि पशुपति क्षेत्रमा प्राथमिक उपचार लगायतका अत्यावश्यक सेवाहरूको प्रबन्ध गरिएको छ भने मन्दिर प्रवेशका लागि चार वटा लाम (लाइन) को व्यवस्था मिलाइएको छ।

दर्शन व्यवस्थापनलाई प्रभावकारी र सुरक्षित बनाउन मन्दिर पहरा गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौँ महानगर प्रहरी र विभिन्न सामाजिक सङ्घ–संस्थाका स्वयंसेवकहरू परिचालन गरिएका छन्।

कोषका पदाधिकारीहरूको नियुक्ति ढिलो भएको र जनशक्ति कम रहेकाले सोचे जति चुस्त काम गर्न भने केही चुनौती रहेको सदस्य सचिव श्रेष्ठले स्वीकार गरे।

पशुपतिनाथका साथै उपत्यकाका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित मक्खन महादेव (सानो पशुपतिनाथ) लगायत देशभरका साना–ठूला सबै शिव मन्दिरहरूमा आज बिहानैदेखि पूजा आराधना गर्ने भक्तजनहरूको लामो लाम लागेको छ।