राजनीति

अस्पताल–अस्पतालमा मन्त्री गगन थापाका गुप्तचर !

काठमाण्डौ । स्वास्थ्यमन्त्री गगन थापाले सरकारी अस्पतालले दिने सेवासहित समग्र अवस्थाबारे जानकारी लिन स्वयंसेवक युवालाई बिरामीको भेषमा परिचालन गरेका छन् ।

ती स्वयंसेवकले अस्पतालले बिरामीलाई दिने सेवा, गर्ने व्यवहार, भौतिक पूर्वाधार अवस्था, समस्या र सुधार क्षेत्रलगायत विषयमा बुझेर मन्त्रीलाई जानकारी गराउँछन् ।

अस्पतालका समस्या पहिचान गरी समाधान रणनीति तर्जुमा गर्न सहयोग पुगोस् भनेर उनले स्वयंसेवक युवालाई बिरामीको भेषमा ‘गुप्त दूत’ बनाएर परिचालन गरेका हुन् ।

भरतपुर अस्पतालको सी ब्लक भवन शिलान्यास गर्न बिहीबार भरतपुर आएका मन्त्री थापाले भने,‘ मैले बिभिन्न तरिकाबाट अस्पतालका बारेमा जानकारी लिइरहेको छु। परीक्षण गरेको छु।’

मन्त्री भएपछि उनी स्वयं पनि विभिन्न अस्पताल पुगेर समस्या र समाधानका उपायबारे जानकारी लिइरहेका छन् भन्दै शुक्रबारको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।