अन्तर्राष्ट्रिय

सोमबार विश्वकै महत्वपूर्ण व्यक्तित्व नेपाल आउँदै, यो आगमन नेपालीहरुका लागि ठूलो अवसर

काठमाण्डौ । ४७ वर्षअघि चन्द्रमामा पाइला टेकेका जीवित अन्तरिक्षयात्री ८७ वर्षीय बज अल्ड्रिन सोमबार काठमाडौं आउँदै छन्।

उनले मंगलबार सुनसरीको अमाहीबेल्हा सीतागन्जस्थित एभरेस्ट साइन्स सेन्टरको अवलोकन गर्दै छन्। अल्ड्रिन नेतृत्वको ६ सदस्यीय टोली पाँच दिन नेपालमा रहने बताइएको छ ।

मंगल ग्रहमा बस्ती बसाउने योजनाका अध्यक्षसमेत रहेका अल्ड्रिनका छोरा डा.एन्ड्रयु अल्ड्रिन, नासाका अध्यक्ष एलिजाबेथ लेवल्याङ र वरिष्ठ वैज्ञानिक जोसेफ लेवल्याङ पनि छन् ।

अल्ड्रिनले बुधबार र बिहीबार काठमाडौंको प्रज्ञा भवनमा हुने अन्तक्र्रियामा आफ्ना अनुभव राख्नेछन्। एभरेस्ट साइन्स सेन्टरका अध्यक्ष दिलीप अधिकारीका अनुसार २४ भदौ साँझ अल्ड्रिनको टोली अमेरिका फर्कनेछ ।

अन्तरिक्षयात्रीहरूको अनुभव सुनाउन करिब पाँच हजार जनालाई साइन्स सेन्टरमा प्रबन्ध मिलाइएको अध्यक्ष अधिकारीले बताएको भन्दै सोमबारको नयाँ पत्रिकामा समाचार लेखिएको छ ।

को हुन् अल्ड्रिन ?
सन् १९६९ मा अपोलो ११ अन्तरिक्ष यानमार्फत अमेरिकी नागरिक निल आर्मस्ट्रङको नेतृत्वमा नासाको टोली चन्द्रमा पुगेको थियो। टोलीमा बज अल्ड्रिन र माइकल कोलिन पनि थिए। तीन यात्रीमध्ये निल आर्मस्ट्रङको निधन भइसकेको छ भने अल्ड्रिन र माइकल जीवित छन्। अपोलो ११ अन्तरिक्ष अभियानमा चन्द्रमामा पाइला राख्नेमा आर्मस्ट्रङ र बज अल्ड्रिन थिए।

माइकल कोलिन यानका चालक थिए। चन्द्रमाको धरातलमा उत्रादा प्रयोग गरिएको टेक यन्त्रका चालक अल्ड्रिन थिए। नेपालमा विज्ञान तथा प्रविधिको विकासका लागि प्रेरणा दिन ८७ वर्षीय अल्ड्रिन नेपाल आउन राजी भएको एभरेस्ट साइन्स सेन्टरका अध्यक्ष दिलीप अधिकारीले बताए। उनको आगमनले नेपालको पर्यटन व्यवसायको प्रवद्र्धनमा समेत सहयोग पुग्ने आयोजकको दाबी छ।