अन्तर्राष्ट्रिय

पाकिस्तानमा हुने सार्क सम्मेलनमा भाग नलिने भारतको घोषणाविरुद्ध नेपाल किन बोल्न सकेन ?

काठमाण्डौ । आगामी नोभेम्बरमा पाकिस्तानको राजधानी इस्लामावादमा हुन लागेको १९ औं सार्क शिखर सम्मेलनमा भारतले सहभागिता नजनाउने घोषणा गरेपछि दक्षिण एसियाको राजनतिक र कुटनीतिक क्षेत्र तरंगित भएको छ । पछिल्लो समयमा भारत–पाक सम्बन्धमा थप तिक्तता आएर युद्धकै स्थिति देखापरेपछि भारतले सो निर्णय लिएको बुझिएको छ ।

पाकिस्तानले सार्क सम्मेलनको तयारी भैरहेको बेला अप्रत्याशित रुपमा भारतले दिएको यो अभिव्यक्तिपछि सार्क सम्मेलन स्थगित हुने संकेत दिएको छ । सार्कको आफ्नै आचारसंहिता अनुसार पनि एउटा राष्ट्रमात्र सहभागी हुन सकेन भने यो सम्मेलन स्वत प्रभावित हुन पुग्ने नियम छ ।

भारत अधिनस्थ काश्मिरमा केही हप्ताअघि भएको आतंकवादी हमलामा परेर आफ्ना १८ जना सैनिकको ज्यान गएपछि भारतले सो आक्रमणको संरक्षण गरेको आरोप पाकिस्तानलाई लगाइरहेको छ भने पाकिस्तानले त्यसको प्रतिवाद गरिरहेको छ । सो आतंकवादी आक्रमणको चौतर्फी विरोध भैरहे पनि भारत–पाकिस्तानको पछिल्लो विकसित घटनाक्रमलाई भने कसैले राम्रो मानेका छैनन् । किनभने युद्ध आफैमा ध्वंसात्मक गतिविधि भएको र यसले भारत–पाक दुवैलाई फाइदा गर्दैन भन्नेहरुको जनमत बलियो देखिन्छ ।

यही कारण आसन्न सार्क सम्मेलन प्रभावित हुनुहुदैन भन्नेहरुको आवाज पनि बलियो रुपमा उठिरहेको छ । भारतले आव्हान गर्नासाथ अफगानिस्तान, श्रीलंका लगायतका मुलुकहरुले समेत सार्क सम्मेलनमा भाग नलिने संकेत दिइरहेका छन् भने सार्क संगठन निर्माणमा महत्वपूर्ण भूमिका खेलेको नेपालले भने आधाकारिक धारणा बाहिर ल्याइसकेको छैन । यद्यपि, नेपालको चाहाना भनेको तोकिएको समयमै सार्क शिखर सम्मेलन हुनुपर्छ भन्ने देखिन्छ ।
सार्क शिखर सम्मेलनविरुद्ध एलायन्स
भारत–पाक सम्बन्धमा थप खटपट देखिएपछि उसले शत्रु राष्ट्रको राजधानीमा हुने भनिएको सार्क सम्मेलनमा भाग नलिने घोषणा नै गरिसकेको छ । त्यसको लगत्तै अफगानिस्तान, श्रीलंका, बंगलादेश लगायतका मुलुकहरुले समेत उक्त सम्मेलनमा भाग लिन नसकिने संकेत दिएका छन् । यो कदम भारतले पाकिस्तान विरुद्ध घेर्ने र अन्तर्राष्ट्रिय मञ्चमा नंग्याउने रणनीति मात्र लिएको देखिन्न्, सार्क संगठनको औचित्यतामाथि समेत प्रश्न उठाउने काम गरेको छ ।

सार्क दक्षिण एसियाली मुलुकहरुको विश्वासिलो र भरपर्दो संगठन हँुदो हो त यसमा भारतले सजिलै यो घोषणा गर्न सक्दैनथ्यो र सुहाउँदैनथ्यो । भारतको यो कदमबाट के बुझ्न सकिन्छ भने उसले सार्क संगठनको विश्वसनियता र औचित्यता सम्बन्धी विषयमा समेत ठेस लगाउने काम गरेको देखिन्छ । भारतको यो कदमले अब दक्षिण एसियामा सार्कको सट्टा अर्को संगठनको जरुरत भएको संकेत दिन खोजेको देखिन्छ । भारत अब पाकिस्तान लगायत आफुसँग पौठेजोरी खेल्ने मुलुकहरुलाई तह लगाउन समेत आफ्नै नेतृत्वमा एउटा नयाँ प्लेटफर्म निर्माण गर्न लागेको जानकारहरु बताउँछन् ।

त्यसैले भारतको नरेन्द्र मोदी नेतृत्वको सरकारलाई पाकिस्तानको जारी विवाद र अघिल्ला वर्ष नेपाल लगायतका छिमेकीहरुसँग बढेको विवादले यो कदम चाल्न मलजल गरिरहेको बताइन्छ । भारतीय प्रधानमन्त्री मोदीको आक्रमक छिमेक नीति पनि यसै स्वार्थबाट अघि बढिरहेको धेरैको आंकलन छ ।
नेपालको धारणा
दक्षिण एसियाली राष्ट्रहरुको दिगो विकास र विशेषगरी नेपालको प्राकृतिक सम्पदालाई उपयोग गरी समृद्ध राष्ट्र बनाउने सपना बोकेका तत्कालीन राजा वीरेन्द्रले सार्क संगठनको परिकल्पना गरेका र बंगलादेश, भारत लगायतका मुलुकहरुको सहयोगमा यो संगठनले मूर्त रुप लिएको थियो । त्यसकारण पनि यसको सचिवालय काठमाण्डौमा राखिएको बताइन्छ । तर पछिल्ला वर्ष सार्कले दक्षिण एसियाली देशहरुको विकास र व्यवस्थापनमा खासै धेरै महत्वपूर्ण भूमिका निर्वाह गर्न नसक्दा भारतलाई यो संगठनविरुद्ध कदम चाल्न सहज भएको विश्लेषकहरु बताउँछन् ।

नोभेम्बरमा हुने भनिएको १९ औं सार्क शिखर सम्मेलन जसरी पनि असफल बनाउने र यो संगठनको औचियतामाथि नै प्रश्न खडा गर्ने तयारीमा भारत रहेको देखिन्छ किनभने यो संगठन निर्माणमा भूमिका खेल्ने देश नेपालसँग समेत भारतको पछिल्ला वर्ष राम्रो सम्बन्ध देखिएन भने यो वर्षको सम्मेलनस्थल पनि पाकिस्तानजस्तो कट्टर सत्रुको हातमा परेको छ । यी दुवै परिवेशलाई भारतले भरपूर उपयोग गरिरहेको देखिन्छ । भारतले अहिले चालेको कदम पनि आफ्नो नयाँ प्लेटफर्म निर्माण गर्ने उद्धेश्यबाट बाहिर आएको दक्षिण एयिाली कुटनीतिक मामलामा दख्खल राख्नेहरुको ठहर छ ।

यद्यपि, नेपालले भने भारतले पछिल्लो समयमा उठाएको आतंकवाद विरुद्धको अभियानमा भने साथ दिएको बताइरहेको छ । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.ऋषि अधिकारी भन्छन्, ‘नेपाल यसबेला भारत–पाक सम्बन्धको विषयमा ईन जनरल र ईन प्रिन्सिपल आतंकवादको विरुद्धमा रहेको छ ।’ यद्धपि, उनले भारत–पाकिस्तानबीचको बढ्दो तनावलाई लिएर नेपालले अहिले नै बोल्न नमिल्ने स्पष्ट पारेका छन् ।

यसबाट के बुझ्न सकिन्छ भने नेपालले यो बेला सार्क सम्मेलनको विषयमा समेत खुलेर बोल्न सकिरहेको छैन । क्षेत्रीय कुटनीतिक सम्बन्धमा आउने असन्तुलनलाई मध्यनजर राख्दै नेपालले आफ्ना धारणाहरु बहिर ल्याइरहेको छ । जसलाई उत्तरी छिमेकी चीन र पाकिस्तानबीचको समबन्धले समेत प्रभावित पारिदिन सक्छ ।