पु.समाचार

प्रचण्ड र मोदीबीच मध्यरातमा यस्तो वार्तालाप !

भारत (गोवा)– नेपाली र भारतीय प्रतिनिधि मण्डलबीचको भेटबार्ता आइतबार राति गोवाको होटल लिलामा सम्पन्न भएको छ । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको नेपाल र भारतको प्रतिनिधि मण्डलबीच पूर्व सहमतिहरु कार्यान्वयन लगायतका विषयमा छलफल भएको थियो ।

भेट बार्तामा प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा भएका सहमतिहरुको कार्यान्वयनका लागि नेपाल प्रतिवद्ध रहेको बताए ।

भेटका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विकासका मुद्धामा दुई देशबीच सहकार्य गरेर अगाडि बढ्नुपर्ने विचार व्यक्त गरे । भेटमा नेपालका तर्फबाट प्रधानमन्त्री प्रचण्ड, परराष्ट्र मन्त्री डा.प्रकाशशरण महत, परराष्ट्र सचिव शंकरदास बैरागी, प्रधानमन्त्री कार्यालयका सचिव टंकमणि शर्मा, शिष्टाचार महापाल दीपक अधिकारी लगायत हुनुहुन्थ्यो भने भारतका तर्फबाट प्रधानमन्त्री मोदी, विदेशमन्त्री सुष्मा स्वराज, नेपालका लागि भारतीय राजदूत रञ्जित राय लगायत विदेश मन्त्रालयका उच्च अधिकारी सहभागी रहेका थिए ।

भेटका क्रममा प्रधानमन्त्री दाहालले नेपाल संविधान कार्यान्वयनको चरणमा रहेको र हिमाल, पहाड र तराईलाई मिलाएर सीमांकन निर्धारण गर्न लागिएको भारतीय प्रधानमन्त्री मोदीलाई जानकारी गराएका थिए । त्यसको लगत्तै प्रधानमन्त्री मोदीले नेपालले सुरु गरेको संविधान कार्यान्वयनको अभियानलाई आफुहरुले नजिकबाट नियालिरहेको बताएका थिए ।

भेटका क्रममा सार्क शिखर सम्मेलनका बारेमा समेत छलफल भएको थियो । भारतीय प्रधानमन्त्री मोदीले भारत–पाकिस्तानबीच पछिल्लो समयमा देखिएको तनानवका विषयमा समेत प्रधानमन्त्री दाहालसँग कुराकानी गरेका थिए । उनले आतंकवाद विरुद्ध एक भएर लड्न समेत आग्रह गरेका थिए ।