मनोरञ्जन

सामाजिक विकृति तोड्न आउने भो ‘अग्निदहन’ चलचित्र

काठमाण्डौ– सामाजिक विषयमा आधारित चलचित्र ‘अग्निदहन’को शुभारम्भ गरिएको छ । रिपोर्टर्स क्लब नेपालमा ‘मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय प्रतिष्ठान नेपाल’ले पत्रकार सम्मेलन गरेर समाजको जल्दोबल्दो विषयका रुपमा रहेको बोक्साबोक्सी कुप्रथालाई लिएर नेपाली चलचित्र अग्निदहन निमार्ण गर्न लागेको जानकारी गराएको छ ।

कार्यक्रममा बोल्दै सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले समाजलाई परिवर्तन गर्नुछ भने रुढीवादी मान्यताको उन्मुलन गर्नुपर्ने हुन्छ र समाज बदल्न नसकिने तर समाजको सोच बिचार र मान्यता अवश्य बदल्न सकिने बताउदैे भने ‘तत्काल छायाँकन हुन लागेको नेपाली चलचित्र अग्निदहन शिक्षा, सुचना र मनोरञ्जनको त्रिवेणी बन्ने छ, यो चलचित्रले नेपाली समाजमा रहेको कुप्रथा बोक्सी प्रथा जरैदेखि उखेलेर फाल्नको लागि नयाँ तरंग ल्याउने छ ।’

उनले अघि थपे,‘यो बोक्सी प्रथा नेपालमा मात्र नभएर भारत, श्रीलङका, बङगलादेश लगायत देशमा अझै पनि कुप्रथाको रुपमा रहेको हुँदा कलाकारहरूले गहन भएर अभिनय गर्ने हो र गुणस्तरीय बनाउने हो भने यो चलचित्रलाई अन्य देशमा प्रर्दशन गर्न सकिन्छ ।’

सञ्चारकर्मीको एक प्रश्नको जवाफमा सचिव थपलियाले यस्ता सामाजिक विषयमा आधारित चलचित्रलाई कर मुक्त बनाउने आफुहरूको लक्ष्य रहेको बताएका छन् । उनले निमार्ण अगावै चर्चामा रहेको नेपाली चलचित्र अग्निदहन कर नतिर्ने पहिलो नेपाली चलचित्र रहेको पनि जानकारी दिए ।

कार्यक्रममा अग्निदहन चलचित्रका निर्देशक घनश्याम लामिछानेले यो विषयमा बन्न लागेको चलचित्र पहिलो हुने भन्दै आफुले सक्दो न्याय दिने प्रण गरे । उनले भने, ‘साहित्यकार, गीतकार, कथाकार, उपन्यासकार लगायतले यो बोक्सी प्रथाको विषयलाई प्राथमिकता दिएका छैनन्, अब हामी यस विषयलाई गहन भएर चलचित्रमा उर्ताने छौ ।’

त्यस्तै संस्थाका संरक्षक भुवनेश्वर शर्मा पौडेलले आफुहरूको अभियान अब चलचित्रको माध्यायबाट सुरु भएको जनाए ।