अन्तर्राष्ट्रिय

दलाई लामालाई भेटेको भन्दै चीनको कडा आपत्ति

एजेन्सी– चीनले स्लोभाकियाका राष्ट्रपतिले धार्मिक नेता दलाई लामासँग भेट गरेको भन्दै सो कदमप्रति आपत्ति जनाएको छ । स्लोभाकियाका राष्ट्रपति अन्ड्रेज किस्काले तिब्बती धार्मिक नेता दलाई लामा सँग व्यक्तिगत रुपमा भेट गरी दिवाभोज समेत दिएको भन्दै चीनले आपत्ति जनाएको हो ।

बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङ ले राष्ट्रपति किस्कोको सो कदमप्रति आपति जनाए ।

कार्यक्रममा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै यिङले राष्ट्रपति किस्का र लामाबीचको भेटले चीनको केन्द्रीय हितमाथि हानी निम्त्याएको बताए । प्रवक्ता यिङले यो कदमले चीन र स्लोभाकियाबीचको राजनीतिक र कुटनीतिक आधारलाई समेत कमजोर बनाएको आरोप लगाएको भन्दै चिनियाँ सञ्चारमाध्यामहरुले जनाएका छन् ।