अन्तर्राष्ट्रिय

विमान दुर्घटनामा ३ जना मारिए

एजेन्सी । मध्यउत्तरी अमेरिकी राज्य पेनसिल्भानियामा भएको एक सानो विमान दुर्घटनामा मारिएका तीन व्यक्तिको सनाखत भएको पेनसिल्भानिया राज्यका प्रहरीले जानकारी दिएका छन् । दुर्घटनामा मारिएका ती तीनै व्यक्ति क्यानाडाली नागरिक हुन् ।

पेनसिल्भानिया काउडरपोर्ट ब्यारेकका प्रहरी जवानहरूले जनाएअनुसार मृतकहरू २५ वर्षीय रिफाट टाविग, १८ वर्षीय कोरी माइज्याक र १९ वर्षीय बेन्जामिन जेफ्रिएस् रहेका छन् । यी तीनैजना युवक क्यानाडाको ओन्टारियो निवासी भएको पनि समाचारमा उल्लेख छ ।

अमेरिकी सङ्घीय हवाई प्रशासन (एफएए) का अनुसार पाइपर पीए–२८ मोडेलको एउटा सानो विमान भर्जिनिया राज्यको रिचमन्ड अन्तर्राष्ट्रिय विमानस्थलबाट क्यानाडाको सेन्ट क्याथरिन्सरनिगारा डिस्ट्रिक्ट विमानस्थलतर्फ उडिरहेको थियो ।

सो विमान अचानक पेनसिल्भानिया राज्यको पोटर काउन्टीको दक्षिणी इलाकामा अवस्थित सानो नगर किटिङ टाउनसिपमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनास्थल पिट्सबर्ग महानगरबाट करीब १५० किलोमिटर उत्तरपूर्वमा पर्दछ ।

अमेरिकी राष्ट्रिय यातायात सुरक्षा निकाय (नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड) का विशेषज्ञहरूको टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ ।

पेनसिल्भानिया प्रहरीका अनुसार सो दुर्घटनास्थल भिरालो परेको, तीखा चट्टानयुक्त कठिन दुर्गमस्थल र जङ्गलको भित्र अवस्थित छ ।

दुर्घटनास्थल वरपर सयौँ गज (मिटर) सम्म दुर्घटनाग्रस्त विमानका भग्नावशेषहरू छरपष्ट भेटिएका छन् ।

एपी समाचार समितिले जनाएअनुसार उडान अवधिमा विमान एक्कासी कडा आँधीबेहरीमा पर्न लागेपछि नियमित आकाश मार्ग परिवर्तन गरेको केही बेरमै रेडियो सम्पर्कबिहीन भएको थियो ।

विमान दुर्घटनाको खास कारण हालसम्म खुलिसकेको छैन ।