समाचार

फरार पूर्वमन्त्री प्रहरीकै संरक्षणमा यसरी बस्दा रहेछन् !

काठमाडौं । प्रहरीको रेकर्डमा पूर्वशान्तिमन्त्री विश्वनाथप्रसाद साह अपहरण घटनाका फरार आरोपित हुन् । जिल्ला प्रहरी कार्यालय सिरहामा दर्ता भएको जाहेरीका आधारमा उनीविरुद्ध ७५ वटै जिल्ला प्रहरी कार्यालयमा खोजतलासको पत्र पुगेको एक महिना नाघिसक्यो । फरार भनिएका साह भने प्रहरीकै सुरक्षामा राजधानीमै छन् ।

माओवादी केन्द्रका नेतासमेत रहेका साहलाई पूर्वमन्त्रीको हैसियतमा सुरक्षाका लागि प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा निर्देशनालयले अंगरक्षक गणका प्रहरी हवल्दार वीरबहादुर गोलेलाई खटाएको छ ।

जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय लहानका इन्जिनियर देवानन्द मण्डलको जाहेरीका आधारमा सिरहा प्रहरीले साहसहित माओवादी केन्द्रका चार जना नेताविरुद्ध अपहरण तथा शरीर बन्धकमा जाहेरी दर्ता गरेको छ ।

मैनाबती नदी नियन्त्रणका लागि जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय लहानले छुट्टयाएको ५० लाख बजेट खर्चको विषयमा मण्डल र साहबीच विवाद बढेको थियो । छलफल गर्ने भन्दै साहलगायत माओवादी केन्द्रका नेताले गत भदौ ४ आफूलाई अपहरण गरी जबर्जस्ती ५ लाखको कागजमा हस्ताक्षर गराएको भन्दै इन्जिनियर मण्डलले प्रहरीमा जाहेरी दिएका थिए ।

मण्डलको दाबीअनुसार पूर्वमन्त्री साहले आफ्नो घर बोलाएर हतियार देखाई बन्धक बनाएर कागज गर्न लगाएका थिए । मण्डलको निवेदनका आधारमा जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयले प्रहरीमा निवेदन दिएको थियो । घटनाबारे भदौ ८ गते जाहेरी आएपछि प्रहरीले दर्ता गरी उनको खोजीका लागि साहसहित माओवादी केन्द्रका नेता रामकुमार यादव, श्रवण यादव, शिवकुमार कापरको तीनपुस्ते विवरण उल्लेख गरी ९ गते प्रहरी प्रधान कार्यालयमा पत्राचार गरेको थियो ।

सिरहाको पत्रका आधारमा प्रहरी प्रधान कार्यालयबाट सबै जिल्ला प्रहरी कार्यालयमा साहलगायतको खोजतलास गर्न पत्र सर्कुलर भइसकेको छ । तर, एक महिना बित्दा पनि आफ्नै संगठनको सदस्यको सुरक्षा घेरामा रहेका साहलाई प्रहरीले फेला पारेको छैन भन्दै आइतबारको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।