काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावबाट पछि नहट्ने बताएका छन् । उनले कार्कीविरुद्धको महाअभियोग प्रस्तावमा कांग्रेससहितको समर्थनमा संसदबाट पारित हुने बताए ।
कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग पारित गर्नका लागि दबाब दिन बालोटस्थित आफ्नै निवासमा पुगेका संयुक्त विद्यार्थी संगठनका प्रतिनिधिहरुसँग शनिवार बिहान ओलीले भने,‘संसदको ब्याक गियर छैन, त्यसैले महाअभियोग प्रस्ताव पारित हुन्छ।’
कार्कीविरुद्धको महाअभियोग प्रस्ताव दर्ता गर्दा कांग्रेसले आफूसँग छलफल गरेन भनेर गुनासो गरेको आफूले सुनेको भन्दै ओलीलले भने,‘यो कुनै पार्टीको निर्णयबाट भएको होइन। सार्वभौम संसदमा रहेका सांसदहरुले स्वतस्फूर्त रुपमा गरेको काम हो। असल कामका लागि कसले के गर्यो भन्नु हुँदैन ।’
आफूले पनि महाअभियोग प्रस्तावमा हस्ताक्षर नगरेको भन्दै ओलीले भने,‘राम्रो कामका लागि ढिलो चाँडो भन्ने हुँदैन। संसदबाट महाअभियोग पारित गर्न मतदान गर्नुपर्छ ।’ ओलीले मधेसवादी दलका सांसदहरुले पनि कार्कीविरुद्धको महाअभियोग प्रस्ताव पारित गर्न सघाउने बताए ।
आफू प्रधानमन्त्री हुँदा पनि अख्तियार प्रमुख कार्कीको विषयमा मन्त्रिपरिषदमा पनि छलफल हुने गरेको स्मरण गर्दै ओलीले भने,‘कार्कीको गलत कामबारे मेरो मन्त्रिपरिषदमा पनि छलफल हुन्थ्यो । कसैलाई सरुवा,बढुवा रोकिदिन्छु भनेर त्रर्साउने काम गर्ने गरेको पनि कुरा आउँथ्यो ।’
फरक प्रसंगमा ओलीले आफूलाई मधेस विरोधी भनेर केहीले गलत प्रचार गरेको समेत गुनासो गरेका थिए भन्दै आइतबारको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार प्रकाशित छ ।