पु.समाचार

लौ हेर्नुहास्, यस्तो बन्दैछ अब काठमाण्डौको कलंकी चोक !

काठमाडौं । राजधानी भित्रिने र बाहिरिने मुख्य प्रवेशद्वार कलंकीले चाँडै आफ्नो स्वरूप फेर्ने भएको छ । विनाअवरोध काम अघि बढे कलंकी चोकले अबको डेढ वर्षभित्र रूप फेर्नेछ । विनाअवरोध सवारीसाधन आवागमन गर्न सक्नेछन् । यात्रुले घन्टौँ ट्राफिक जामको समस्या झेल्नुपर्ने छैन । यसका लागि सडक विभाग निर्माण कार्यमा जुटिसकेको छ ।

चिनियाँ सहयोगमा अत्याधुनिक बनाइँदै
चिनियाँ सरकारको सहयोगमा विभागले कलंकी चोकको रूप फेर्न लागेको हो । सडक विभागले कलंकी चोकको निर्माण कार्यमा चिनियाँ ठेकेदार कम्पनी सांघाई कन्स्ट्रक्सन ग्रुपलाई जिम्मेवारी दिएको छ । ठेकेदार कम्पनीको आग्रहपछि विभागले कलंकीस्थित ओभरहेड ब्रिज हटाइसकेको छ । कलंकी चोकलाई अत्याधुनिक बनाउन आसपास रहेका संरचनासमेत हटाइसकिएको छ ।

काठमाडौं चक्रपथ विकास आयोजना प्रमुख ज्ञानेन्द्रकुमार झाका अनुसार अबको केही वर्षभित्रै कलंकी चोक नयाँ बन्नेछ । ‘कलंकी चोकले डेढ वर्षभित्रै स्वरूप फेर्नेछ । कलंकी चोकलाई अत्याधुनिक बनाइनेछ । उपत्यका प्रवेश गर्ने सवारीसाधन विनाअवरोध आउजाउ गर्न सक्नेछन् । चक्रपथ परिक्रमा गर्ने सवारीसाधन पनि अवरोधविनै चल्न सक्नेछन्,’ उनले भने ।
कुन सडकमा कसरी सवारी साधन गुडाउने ?
नागढुंगाबाट स्वयम्भूतर्फ जाने सवारीसाधन विनाअवरोध ओभरहेड ब्रिजको बायाँतर्फ मोडेर जान सक्नेछन् । स्वयम्भूबाट नागढुंगा जाने सवारीसाधनले पनि सोही रुट प्रयोग गर्न सक्नेछन् । नागढुंगाबाट बल्खुतर्फ जाने सावरीसाधन विनाअवरोध दायाँ मोडेर जान सक्नेछन् । बल्खुबाट नागढुंगा जाने सवारीसाधनले पनि सोही रूपट प्रयोग गर्न सक्नेछन् ।

त्रिपुरेश्वरबाट स्वयम्भू जाने सवारीसाधनले ओभरहेड ब्रिजको दायाँ मोड प्रयोग गरेर जाने सक्नेछन् । स्वयम्भूबाट त्रिपुरेश्वर जाने सवारीसाधनले पनि सोही रुट प्रयोग गर्न सक्नेछन् । त्रिपुरेश्वरबाट बल्खु जाने सवारीसाधनले ओभरहेड ब्रिजको बायाँ मोड प्रयोग गर्न सक्नेछन् । बल्खुबाट त्रिपुरेश्वर जाने सवारीसाधनले पनि सोही मोड प्रयोग गर्न सक्नेछन् भन्दै आइतबारको नयाँ पत्रिका दैनिकमा समाचार प्रकाशित छ ।