समाचार

माइती नेपालले गर्यो नेपाल–भारत सीमाबाट दुई युवतीको उद्धार

भीमदत्तनगर । वैदेशिक रोजगारीका लागि भारतको नयाँ दिल्ली हुँदै तेस्रो मुलुक जान लागेका दुईजना युवतीलाई शनिबार माइती नेपाल कञ्चनपुरले गड्डाचौकीबाट उद्धार गरेको छ ।

सुनसरीकी २६ वर्षीया र कास्कीकी २९ वर्षीया युवतीलाई भारतको राजधानी नयाँ दिल्ली हुँदै ओमान जान लागेको अवस्थामा पश्चिमी सिमानाबाट उद्धार गरिएको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताइन् ।

काठमाडौँ–दिल्ली चल्ने ना५ख ८९७ नंको बस चेकजाँच गर्ने क्रममा उक्त दुई युवती अवैध रुपमा जान लागेको भेटिएको हो । सुनसरी घर भएका गौरीले ओमानमा राम्रो काम छ यतै आउनु भनेर कुरा गरेपछि आफूले काठमाडौँबाट दिल्लीका लागि हिँडेको बताएको माइती नेपालको भनाइ छ ।

साथमा पासपोर्ट भिसासमेत नभएकी युवतीलाई कुनै वैदेशिक रोजगारीको प्रलोभन देखाई दलालले भारतमै बेचबिखन गर्न लगिरहेको आशङ्का माइती नेपाल कञ्चनपुरले गरेको छ । सोधपुछ गर्दा युवतीसँग आवश्यक कागजात नभेटिएकाले उनीहरुलाई माइती नेपालले नियन्त्रणमा लिएर आवधिक गृहमा राखिएको छ । रासस