समाचार

अमेरिकामा नेपालीहरुका लागि आयो अर्को नयाँ अवसर

काठमाण्डौ । अमेरिकामा नेपालीहरुका लागि फेरि एउटा नयाँ अवसर प्राप्त भएको छ । गतसाल वैशाख १२ गते भूकम्पमा परेका नेपालीहरुलाई केही राहात दिनुपर्छ भन्ने उद्धेश्यका साथ अमेरिकाले साथ दिने संकेत दिएपछि अमेरिका बस्ने नेपालीहरुका लागि नयाँ अवसर प्राप्त भएको हो ।

अमेरिकामा कागजपत्रबिनै बस्दै आएका नेपालीका लागि त्यहाँको सरकारले टेम्पोररी प्रोटेक्टेड स्टाटस (टिपिएस) म्याद थप डेढ वर्ष थप्ने निर्णय गरेको छ । सन् २०१५ भन्दा अघि अमेरिका छिरेर कागजपत्र बिनै बस्दै आएका नेपालीहरुका लागि त्यहाँको सरकारले डेढ वर्षका लागि भन्दै टिपिएस सुविधा दिएको घोषणा नै गरेको छ । यो म्याद यसअघि डिसेम्बर २१ तरिखसम्मका लागि थियो भने अब सन् २०१८ जुन २४ सम्म त्यस्ता नेपालीहरुले अमेरिकामा बस्न र काम गर्न पाउने छन् ।

अमेरिकी सरकारले जनाएअनुसार उक्त डेढवर्षभित्र त्यहाँ बस्ने त्यो खालका नेपालीहरुले निकै इमान्दारिताका साथ बस्नुपर्नेछ । टिपिएसमा दर्ता भएकाहरुले कुनै आपराधिक गतिविधि गरेको पाइएमा अमेरिकी सरकारले कडा कार्वाही समेत गर्न सक्ने जनाएको छ ।

उनीहरुका लागि अर्को एउटा महत्वपूर्ण सुविधा समेत थपिएको छ । टिपिएसमा दर्ता भएकाहरुले त्योबीचमा नेपालमा रहेका भूकम्प पीडित परिवारलाई समेत भेट्न आउने प्रावधान त्यहाँको सरकारले गरेको छ ।

अमेरिकी सरकारले टिपिएसमा दर्ता हुनका लागि फेरि समयतालिका सार्वजनिक गरेको छ । गत अक्टोबर २६ तारिख देखि २ महिनासम्मको समय तोकिएको जनाइएको छ । अमेरिकामा यसबेला झण्डै  ९ हजारको हाराहारीमा नेपाली टिपिएस कोटामा दर्ता भएको अमेरिकी सरकारको तथ्यांकमा देखिन्छ ।

टिपिएसमा दर्ता भएकाहरुले फेरि दर्ता हुनुपर्ने प्रावधान राखिएको जनाइएको छ । टिपिएसमा दर्ता हुनेहरुले आधिकारिक रोजगार प्रमाणपत्र नवीकरण गर्नुपर्ने समेत जनाइएको छ । टिपिएसमा दर्ता हुनका लागि सन् २०१५ को जुन २४ तारिखदेखियता लगातार अमेरिकामा बसोबास गरेको हुनुपर्ने सम्मको प्रावधान तोकिएको जनाइएको छ ।

अमेरिकी सरकारको यो कदमले त्यहाँ पुगेर रणभूल्लमा परेका नेपालीहरुका लागि केही राहात समेत मिलेको टिपिएसमा दर्ता भएका नेपालीहरुले बताउने गरेका छन् ।