राजनीति

सरकार र मोर्चाबीच केही दिनभित्रै वार्ता हुँदै

काठमाडौं । संविधान संशोधनबारे सरकार, मधेसी मोर्चा र संघीय गठबन्धनबीच केही दिनभित्रै औपचारिक वार्ता हुने भएको छ । संविधान संशोधनको प्रस्ताव संसद्मा दर्ता गर्ने गरी औपचारिक छलफल हुन लागेको हो ।

‘एक–दुई दिनभित्रै औपचारिक छलफल गर्ने भनेर प्रधानमन्त्रीले बोलाउनुभएको छ, सायद अब गम्भीर छलफल होला,’ सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले नयाँ पत्रिकासँग भने । उनका अनुसार केही निश्चित बुँदामा सरकारसँग अनौपचारिक रूपमा पटक(पटक छलफल भएका छन् ।

सरकार र असन्तुष्ट पक्ष अनौपचारिक छलफलमा मुख्य चार विषय सहमतिनजिक पुगेका छन् । त्यसकै आधारमा औपचारिक छलफल हुन लागेको नेताहरूले बताएका छन् । तर, सहमतिको प्रयासका लागि सरकार पक्षबाट गम्भीरतापूर्वक छलफल हुन नसकेको संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले बताए । ‘केही अनौपचारिक छलफल भएका छन्, तर संशोधन प्रस्ताव तयार गर्ने गरी छलफल हुन सकेको छैन,’ यादवले भने ।
छिट्टै वार्ता गर्ने प्रचण्ड र देउवाबीच सहमति
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच शुक्रबार साँझ भेटवार्ता भएको छ । बालुवाटारमा भएको भेटमा देउवाको आसन्न भारत भ्रमण र मधेसी मोर्चासँग वार्ता गरेर संविधान संशोधन गर्ने विषयमा केन्द्रित रहेर छलफल भएको छ ।
दुई नेताबीच मधेसी मोर्चासँग पनि केही दिनभित्रै वार्ता गर्ने सहमति भएको छ । देउवा भारत भ्रमणमा जानुअघि मोर्चासँग छलफल गर्ने तयारी छ । देउवा १९ कात्तिकमा भारत भ्रमणमा जादै छन् भन्दै शनिबारको नयाँ पत्रिका दैनिकमा समाचार प्रकाशित छ ।