आर्थिक

चाबहिल–साँखु सडक निर्माणको काम रोकियो

काठमाडौं । चाबहिल–जोरपाटी–साँखु खण्डको सडक निर्माण ठप्प भएको छ । सडक विस्तार हुन लागेपछि स्थानीयले सर्वोच्च अदालतमा मुद्दा हालेपछि काम रोकिएको हो ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले ०७२ कात्तिकबाट सडक विस्तार तथा निर्माण थालेको थियो । तर, नापी ठीक नभएको भन्दै स्थानीयले सर्वोच्चमा मुद्दा हालेपछि काम रोकिएको हो ।

काम सुरु गरेको १२ महिनामा करिब २० प्रतिशत मात्रै काम सकिएको आयोजनाले जनाएको छ । यो सडकखण्ड निर्माण अवधि २७ महिनाको छ । १२ महिनामा करिब २० प्रतिशत काम मात्रै सकिएको आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार चाबहिल–जोरपाटी–अपांगसम्म सडक मिचेर भवन निर्माण गरिएको छ । घर भत्काउन स्थानीयले अवरोध गरेपछि निर्माण रोकिएको आयोजनाका उपसचिव नवराज सापकोटाले बताए ।

‘विशेषगरी चाबहिल–जोरपाटी–दक्षिणढोकासम्मको सडक निर्माणमा अवरोध छ । अन्य स्थानमा काम धमाधम भइरहेको छ,’ सापकोटाले भने, ‘टेन्डर भइसकेको छ । ठेकेदारले काम गर्न पाइनँ भनेर पटक–पटक पत्र लेखेको छ । तर, ठाउँ खाली गर्न सकिएको छैन । स्थानीयको अवरोध भएपछि काम अघि बढ्न सकेन ।’

सडकको केन्द्रबाट ११ मिटर दायाँ–बायाँ विस्तार गर्ने आयोजनाको योजना छ । यसो गरिँदा सडक मिचेर बनाइएका अस्थायी तथा स्थायी संरचना भत्काउनुपर्ने हुन्छ । स्थानीयले भने भवन भत्काउन नपाइने भन्दै अवरोध गरेका छन् ।

दक्षिणढोका–साँखुसम्मको नौ किमि सडकखण्डमा पनि अवरोध छ । डाँचीआसपासका क्षेत्रमा अवरोध रहेको आयोजनाले जनाएको छ । सडक मिचेर निर्माण गरिएका घर भत्काउने क्रममा स्थानीयले सर्वोच्चमा मुद्दा हालेका हुन् । सर्वोच्चले तत्काल निर्माण नगर्न स्टे अर्डर जारी गरेपछि काम रोकिएको छ ।

‘दक्षिणढोका–साँखु खण्डमा पर्ने डाँचीमा स्थानीयले अवरोध गरे । सर्वोच्चमा मुद्दा हाले,’ आयोजनाका उपसचिव सापकोटले भने, ‘सर्वोच्चले स्टे अर्डर जारी गरेपछि निर्माणको सबै काम प्रभावित बनेको छ । शनिबारको नयाँ पत्रिका दैनिकमा समाचार प्रकाशित छ ।