अन्तर्राष्ट्रिय

इराकको मोसुल सहरबारे बोल्यो राष्ट्रसंघ, ८ हजार सर्वसाधारण आइएसको कब्जामा

एजेन्सी । संयुक्त राष्ट्रसङ्घले इराकी सहर मोसुलबाट हालैका दिनमा करिब २५० जना सामान्य नागरिकको मृत्यु भएको जनाएको छ । जेनेभास्थित राष्ट्रसङ्घ कार्यालयका प्रवक्ता रविना सम्दासिनीले जिहादी विद्रोहीले सर्वसाधारणलाई युद्धक्षेत्रमा बसिरहन दबाब दिएको बताए ।

उनीहरुले सर्वसाधारणलाई मानव ढाल बनाउने उद्देश्यका साथ उनीहरुलाई त्यहाँबाट बाहिरिन नदिएको प्रवक्ता सम्दासिनीले बताए ।

इस्लामिक स्टेट (आईएस) जिहादी विद्रोहीले उनीहरुसँग विमती जनाउने कैयौँ मानिसको हत्या गरेको पनि स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।

आईएस विद्रोहीले इराकी सुरक्षाफैजमा काम गरी अवकाश प्राप्त २४ जनालाई मङ्गलबार र अन्य १९० जनालाई बुधबार घाँटी रेटी हत्या गरेको अधिकारकर्मीले दाबी गरेका छन् ।

त्यसैगरी इराकी अल इजा सैन्य शिविरमा ४२ जना सर्वसाधारणलाई सरकारी पक्षबाट टाउकोमा गोली हानी हत्या गरिएको राष्ट्रसङ्घ कार्यालयले जारी विज्ञप्तिमा जनाइएको छ ।

यस बाहेक सरकारी फौज मोसुल क्षेत्रमा घेरा हाल्दै अघि बढ्दै गर्दा आईएस समूहले करिब आठ हजार सर्वसाधारणलाई अपहरण गरी आफ्नो कब्जामा लिएको प्रवक्ता साम्दासिनीले बताए ।