अन्तर्राष्ट्रिय

यमनका राष्ट्रपतिले अस्वीकार गरे राष्ट्रसंघको महत्वपूर्ण प्रस्ताव

एजेन्सी । यमनका लागि संयुक्त राष्ट्रसङ्घका प्रतिनिधि इश्माइल वल्ड शेख अहमदद्वारा यमनमा जारी द्वन्द्व अन्त्य गरी मुलुकको स्थायी शान्तिका लागि गरिएको प्रस्ताव यमनका राष्ट्रपति अवेद्रब्बो मन्सुर हाडीले अस्वीकार गरेका छन् ।

शनिबार राष्ट्रसङ्घ प्रतिनिधि अहमदसँग भेटमा भएको छलफलमा हाडीले राष्ट्रसङ्घद्वारा प्रस्ताव गरेअनुसार आफ्नो विकल्प खोज्न सम्भव नहुने बताउनुभएको सरकारी अधिकारीले बताएका छन् ।

राष्ट्रसङ्घ प्रतिनिधि अहमदले यमनी विद्रोहीसँग मङ्गलबार एउटा खाका पेस गरी यमनको द्वन्द्व अन्त्यका लागि पहल गरिने प्रयासमा सहयोग गर्नुभएको बताइएको छ । यद्यपि खाकामा केके कुरा समावेश गरिएको थियो भन्ने विषयलाई राष्ट्रसङ्घको यमनस्थित कार्यालयले सार्वजनिक रुपमा जानकारी गराएको छैन ।

विश्वस्त स्रोतले राष्ट्रसङ्घ प्रतिनिधि अहमदले नयाँ समीकरणका लागि यमनी राष्ट्रपति सत्ताबाट बाहिरिने प्रस्ताव रहेको जनाएको छ ।