पु.समाचार

काठमाण्डौबाट जनकपुर यसरी पुगदैछन् भारतीय राष्ट्रपति, धित मारेर हेर्ने भए हिमाली दृष्य !

काठमाडौं । काठमाडौंदेखि जनकपुरको उडान अवधि २५ मिनेट हो । तर, शुक्रबार भारतीय राष्ट्रपति प्रणव मुखर्जीको उडानको समयावधि करिब ४५ मिनेटको हुनेछ ।

बुद्ध एयरको फ्रेन्च–इटालियन एटीआर विमानमा हुने राजकीय सवारी काठमाडौंबाट उडेपछि जनकपुरको हवाई बाटो नसमातेर पूर्व–उत्तर हुँदै उड्नेछ ।

त्रिभुवन विमानस्थल स्रोतका अनुसार विमानको बायाँतर्फको सिटमा एक्लै रहने राष्ट्रपति मुखर्जी हिमाल हेर्दै जनकपुर पुग्नेछन् ।

‘नियमित उडानको समय २५ मिनेट हो तर राष्ट्रपतिलाई हिमाल देखाउँदै जाँदा थप १०/१५ मिनेट समय अवधि बढ्नेछ,’ ती अधिकारीले भने ।

राष्ट्रपति उडानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले बिहान १० बजेदेखि साढे १० बजेसम्म (आधाघण्टा) का लागि नोटाम जारीपछि विमानस्थल बन्द गरेको छ । प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्यसबेला काठमाडौंका लागि कुनै पनि आन्तरिक र अन्तर्राष्ट्रिय उडानरअवतरण हुने छैनन् ।

भीभीआईपी उडान १० बजेर २० मिनेटमा जनकपुरका लागि उड्नेछ । त्यसपछि बुद्धको अर्को एटीआर विमानमा भारतबाट आएका पत्रकार, सांसद र विधायकलगायतका डेलिगेट उड्नेछन् । डेलिगेटको उडान अवधि भने २५ मिनेटकै हुनेछ । उनीहरूले माउन्टेन फ्लाइटको अनुभव लिने छैनन् ।

‘राष्ट्रपतिको विमान हिमाल हेर्दै जाने योजना छ, जसका कारण उहाँको जहाज काठमाडौंबाट पहिले उडे पनि जनकपुरमा भने डेलिगेट बोकेको जहाजले अवतरण गरेको केही मिनेटपछि मात्रै अवतरण हुनेछ,’ स्रोतले भन्यो । राष्ट्रपतिको उडानका साथसाथै काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर र गृहमन्त्री बोकेर अर्को निजी हेलिकप्टर उड्ने कार्यतालिका छ । सेनाको हेलिकप्टर अञ्चल प्रहरी कार्यालयमा अवतरण गर्नेछ । उक्त हेलिकप्टरले राष्ट्रपतिको जनकपुर बसाइका क्रममा हवाई–रेकी गर्नेछ ।

अन्तर्राष्ट्रिय उड्डयन प्राधिकरण (आइकाओ) ले हरेक विमानस्थलमा भवितव्य हवाई दुर्घटनाका लागि दमकल र उद्धार टोली अनिवार्य राख्नुपर्ने भनेको छ । तर, जनकपुर विमानस्थलमा यो सुविधा छैन । राष्ट्रपतिको भ्रमणमा भवितव्य हवाई सुरक्षाको जोखिम न्यूनीकरणका लागि बुधबार सिमरा विमानस्थलमा रहेको दमकलसहित ६ उद्धारकर्मी जनकपुर आइपुगेको उक्त विमानस्थलले जनाएको छ । ६ जनामध्ये ३ जना काठमाडौंबाट पठाइएका छन् ।

काठमाडौंको विमानस्थल साढे १० बजे खुलेपछि मात्रै अन्य कमर्सियल उडान हुनेछन् । काठमाडौं विमानस्थलले शुक्रबार फेरि सवा ४ बजेदेखि सवा ५ बजेसम्मका लागि विमानस्थल बन्द गर्दै छ । यो एक घण्टाको अवधिमा राष्ट्रपति मुखर्जी पोखराबाट काठमाडौं आउने र काठमाडौंबाट दिल्ली फर्किने कार्यक्रम छ । काठमाडौंको विमानस्थल बन्द भएका बेला भने नेपालगन्जदेखि कर्णालीका रुट, पोखरा–जोमसोम र विराटनगरदेखि पूर्वी पहाडी रुटका हवाई सेवा भने सुचारु नै रहनेछन् ।

राष्ट्रपति मुखर्जीसहितका दुवै विमान जनकपुर भ्रमण सकेर सीधै पोखरा जानेछन् । ती विमानलाई दुईटा हवाईमार्ग दिइएको छ । एउटा जनकपुरबाट काठमाडौं नजिकको आकाश हुँदै र अर्को जनकपुरबाट भरतपुर हुँदै । तर, पोखराबाट काठमाडौं फर्किंदा ती विमानहरूले हाल प्रयोगमा रहेकै हवाई रुट हुँदै काठमाडौं अवतरण गर्नेछन् ।

साढे ४ बजे विमानस्थलमा मुखर्जीले अवतरण गरेपछि उनको त्यहीँबाट बिदाइ हुनेछ । उनी उड्नुअघि डेलिगेटहरूको चार्टर विमान दिल्लीतर्फ उड्नेछ अनि मात्रै राष्ट्रपतिलाई ल्याएर आएको एयरफोर्सको बोइङ ७३७ विमान उड्नेछ । मुखर्जी उडेपछि विमानस्थल सवा ५ बजे मात्रै खुल्नेछ ।

स्रोतका अनुसार नेपाल सरकारले राजकीय भ्रमणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीलाई सवारीमन्त्रीको जिम्मेवारी दिएको छ । मन्त्री शाही मुखर्जीसँगै जनकपुर र पोखरा जाँदै छन् । चार्टर गरिने दुवै विमानको भाडा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले व्यहोर्दै छ ।

यो राजकीय भम्रणका लागि बुद्ध एयरले दुइटा विमान उडाउँदै छ भने एउटा विमान स्ट्यान्ड–वाई काठमाडौंमा जगेडामा राख्दै छ ।

यी तीनवटै विमान बिहीबार साँझदेखि नेपाली सेनाको निगरानीमा राखिने भनिएको थियो । तर, बिहीबार विमानस्थलको राडर प्रणालीको तार मुसाले काटेकाले सेनाले राति अबेर मात्रै जहाज निगरानीमा लिनुपरेको छ ।

राडरको तार मुसाले काटेका कारण बिहीबार दिउँसोदेखि सबै उडान कम्तीमा २ घण्टा डिले हुन पुगे । शुक्रबार राष्ट्रपतिले प्रयोग गर्ने जनकपुर र पोखरा विमानस्थलमा उनको उडान समयअघि र पछि भने नियमित उडान हुने प्राधिकरणले जनाएको छ । शुक्रबारको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।