पु.समाचार

जनकपुर र पोखरा जाँदै भारतीय राष्ट्रपति मुखर्जी

काठमाण्डौ । तीन दिने नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जी शुक्रबार नेपालका प्रख्यात शहरहरु जनकपुर र पोखरा जाँदैछन् । शुक्रबार मध्यान्ह पौन ११ बजे जनकपुर जाने कार्यक्रम तय गरिएको छ । राष्ट्रपति मुखर्जी बुद्ध एयरको विमानमार्फत आन्तारिक उडान गर्दैछन्, जसबाट उनले जनकपुर र पोखरा हुँदै काठमाण्डौ सम्मको यात्रा गर्नेछन् ।
यसबेला भारतीय राष्ट्रपति मुखर्जी आउने प्रतिक्षामा जनकपुर र पोखरामा भव्य तयारी गरिएको छ । जनकपुरमा सुरक्षा सतर्कता धेरै बढाइएको छ । नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीले विशेष सुरक्षा सतर्कता अप्नाएको श्रोतले बताएको छ ।

भारतीय राष्ट्रपति मुखर्जीका लागि जनकपुरमा नागरिक अभिनन्दन समेत गरिदैछ । केही घण्टाको जनकपुर भ्रमण र बसाईपछि राष्ट्रपति मुखर्जी पोखरातर्फ प्रस्थान गर्ने जनाइएको छ । पोखरामा मुखर्जीले भूतपूर्व भारतीय गोर्खा सैनिकको संगठनलाई सम्बोधन गर्नेछन् र केही बेरको अवलोकन भ्रमणपछि उनी काठमाण्डौ फर्कर्ने कार्यक्रम रहेको छ ।
हिमाली दृष्य हेर्दै जनकपुर पुग्ने
भारतीय राष्ट्रपति मुखर्जीको आन्तारिक उडानका लागि नीजि क्षेत्रको बुद्ध एयरले ३ वटा जहाजलाई परिचालन गरिरहेको छ । २ वटा जहाज जनकपुर र पोखरा उडानका लागि प्रयोग हुदैछन् भने एउटा जहाज कुनै आपतकालीन अवस्था आइलागेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्टान्ड बाई राखिएको जनाइएको छ ।

शुक्रबार बिहान पौने ११ बजे जनकपुर पुग्ने तयारीमा रहेका राष्ट्रपति मुखर्जी त्यसअघि काठमाण्डौबाट त्यसतर्फ प्रस्थान गर्नेछन् । बुद्ध एयरको जहाजमा जान लागेका मुखर्जीका लागि केही वैकल्पिक समय समेत खर्चिने जनाइएको छ ।

काठमाण्डौबाट जनकपुरसम्मको उडान करिब २५ मिनेटको हो तर राष्ट्रपति मुखर्जीका लागि ४५ मिनेटको समय खर्चिने जनाइएको छ । राष्ट्रपति मुखर्जीलाई लिएर उडेको विमान सिधै जनकपुर जाने रुट नभई उत्तर पूर्वी रुट हुँदै हिमाली दृष्य हेर्दै जनकपुर पुग्ने जनाइएको छ । करिब १५ देखि २० मिनेटको समय राष्ट्रपति मुखर्जीका लागि हिमालय श्रृंखलाको रोमाञ्चक दृष्य हेर्दैमा बित्ने जनाइएको छ । त्यसपछि विमान जनकपुरमा अवतरण हुने जनाइएको छ । त्यसको लगत्तै उनले पोखरा जाने कार्यक्रम तय भएको जनाइएको छ ।

पोखराबाट काठमाण्डौ फर्किए लगत्तै उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै दिल्लीतर्फ विदाई गरिने जनाइएको छ । बेलुका ५ बजे राष्ट्रपति मुखर्जीलाई विमानस्थलबाटै बिदाई गरिनेछ ।