पु.समाचार

शसस्त्र प्रहरीका महानिरीक्षक राईले आर्थिक हिनामिना गरेको खुलासा !

काठमाण्डौ । सशस्त्र प्रहरी कल्याणकारी कोषको अनधिकृत प्रयोग सशस्त्रकै महानिरीक्षकसहितका वरिष्ठ अधिकृतले विदेश भ्रमणका नाममा गरेको पाइएको छ । कल्याणकारी कोष मूलतः भूतपूर्व, अशक्त र वीरगति प्राप्त व्यक्तिका आश्रित परिवारको हितमा खर्च गर्ने उद्देश्यले स्थापना गरिएको हो ।

सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले इटाली, अमेरिका र पछिल्लो पटक इन्टरपोलको बैठकमा भाग लिन इन्डोनेसिया जाँदा कोषबाट रकम निकासा गराएको स्रोतको दाबी छ ।

विदेश भ्रमणका बेला लिएको रकमलाई वैधानिकता दिन कल्याणकारी सेवा केन्द्र सञ्चालक समितिको बैठकबाट त्यसलाई पारित गराउने प्रयत्न भइरहेको छ । कोष बैठकबाट पारित नै नगरी महानिरीक्षक राईलगायतका वरिष्ठ प्रहरी अधिकृतले कोषको रकम लिएका थिए ।

सशस्त्र प्रहरीभित्रै कोष रकम दुरुपयोगको आरोप लागेपछि महानिरीक्षक राईले त्यसलाई पेस्की रकम रहेको स्पष्टोक्ति दिएका छन् । पछिल्लोपटक कात्तिक अन्तिम साता अमेरिका जाने क्रममा राईले मानव स्रोत विकास विभागमार्फत कल्याणकारी सेवा केन्द्रबाट रकम निकासा गर्दा कल्याणकारी कोषले खर्च बेहोर्ने गरी व्यवस्था मिलाइएको थियो ।

सरकारलाई भार नपर्ने गरी महानिरीक्षक राईलगायतको भ्रमण दलको खर्च आयोजकले बेहोर्ने भनेपछि गृह मन्त्रालयले स्वीकृत दिएको थियो । गत चैत ६ मा महानिरीक्षक राई इटालीको भिसेन्जास्थित सेन्टर फर एक्सिलेन्स फर स्ट्याबिलिटी पुलिस युनिटमा सञ्चालित एफपियु कमान्डु तथा स्टाफ कोर्सु (ट्रेनिङ अफ ट्रेनर्स) को समापन कार्यक्रमा जाँदा पनि कोषबाट रकम लिएका थिए ।

टोलीमा तत्कालीन डीआईजी शैलेन्द्र खनाल (अहिले एआईजी) र राईका निजी सचिव गुञ्जनप्रताप मल्ल पनि सहभागी थिए । सशस्त्र मुख्यालय स्रोतका अनुसार अहिलेसम्म विदेश भ्रमणका क्रममा कोषबाट निकालिएको रकम कोषको बोर्ड बैठकबाट पारित भएको छैन ।

सशस्त्र प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिवाकर केसीले कोष सञ्चालक समितिको बैठकको निर्णयबिना रकम निकासा नहुने बताए ।केसीले अन्नपुर्णसँग भने, बोर्डको निर्णयपछि मात्र अफिसियल भिजिटका लागि कोषको रकम प्रयोग हुन्छ ।

इटाली जाने क्रममा महानिरीक्षक राईले ६ हजार अमेरिकी डलर, खनाल र मल्लले तीनरतीन हजार अमेरिकी डलर लिएको स्रोतले बताएको छ । गत जेठमा संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा सम्पन्न युनाइटेड नेसन्स चिफ्स अफ पुलिस सम्मेलनमा सहभागी हुन जाँदा पनि सशस्त्र प्रहरी महानिरीक्षक राई र प्रहरी नायब महानिरीक्षक रामशरण पौडेलले कोषको रकम लगेका थिए ।

संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनको निमान्त्रणमा न्युयोर्क गए पनि आईजी राई र पौडेलले कोषको रकम लिएको स्रोतले बताएको छ । सामान्यतया उक्त भ्रमणको खर्च राष्ट्रसंघले बेहोर्छ । सोमबारको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार प्रकाशित छ ।