राजनीति

तरुण दलको महाधिवेशन मंगलबार सकिदै, यस्तो छ नयाँ नेतृत्व चयनको तयारी

पोखरा । नेपाली कांग्रेसको भातृसंगठन तरुण दलको महाधिवेशन मंगलबार सकिदैछ । तीन दिन तय गरिएको महाधिवेशन प्रतिनिधहरुको रिपोर्ट राख्ने क्रम नसकिएपछि एक दिन लम्बिएको थियो । एक दशकपछि सम्पन्न चौथो महाधिवेशनले मंगलबार नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्वका लागि नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री जितजंग बस्नेतलाई सर्वसम्मत अध्यक्ष बनाउने तयारी गरिएको बुझिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निकट मानिएका बस्नेतलाई अध्यक्ष बनाउन पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच समेत सहमति भैसकेको श्रोतले बताएको छ ।

केही महिनाअघि सम्पन्न नेपाल विद्यार्थी संघको अध्यक्ष पदको प्रत्यासीबाट आफ्नो उम्मेद्धारी फिर्ता लिएका बस्नेतलाई पार्टी सभापति देउवालेनै तरुण दलको अध्यक्ष बनाउने आश्वासन दिएको बुझिएको छ ।

अहिले सभापति देउवाकै निर्देशनमा बस्नेतलाई सभापति बनाउन लागिएको हो । अध्यक्षमा बस्नेतको टुंगो लागेपनि अन्य पदाधिकारीहरुको बारेमा छलफल चलिरहेको बुझिएको छ । श्रोतका अनुसार बरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसद सिटौला पक्षको भागमा उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष पार्ने तयारी भैरहेको बुझिएको छ ।

पौडेल र सिटौला पक्षले यी पदहरुको दाबी गरिरहेका छन् । तरुण दलको नेतृत्व छान्नका लागि देउवा अहिले पनि पोखरामै रहेका छन् । नेतृत्व चयनमा सहमति भएपछि मंगलबारनै सभापति देउवा काठमाण्डु जाने तयारी छ । अन्य पदाधिकारीहरुका बारेमा गम्भीर ढंगले छलफल चलिरहेको बताइएको छ ।