अन्तर्राष्ट्रिय

अमेरिकामा ट्रम्प आएपछि जर्मन चान्सलर मर्केलको यस्तो तयारी

एजेन्सी । अमेरिकामा डोनाल्ड ट्रम्पको विजय र फ्रान्समा फ्राँस्वा अलोँको निर्वाचनमा उम्मेदवार नुहुने निर्णयपछि जर्मनीमा चान्सलर एङ्गेला मर्केल सन् २०१७ को निर्वाचनमा विजय हासिल गर्ने रणनीति तयार गर्ने प्रक्रियामा लागेकी छन् ।

मङ्गलबार उनको मध्यदक्षिणपन्थी क्रिस्चियन डेमोक्र्याटिक युनियन (सीडीयु) दुईदिने वार्षिक सम्मेलन हुने भएको छ र त्यसमा उनले यस दलका सदस्यलाई आफूलाई चौँथो कार्यकालका लागि जर्मनीको नेताको रूपमा उभ्याउन सहयोग गरिदिन आग्रह गर्ने जनाइएको छ ।

चान्सलर मर्केलले सेप्टेम्बर महिनामा हुने निर्वाचन यसअघिका निर्वाचनभन्दा बढी कठिन हुने पहिले नै स्वीकार गरिसकेकी छन् ।

शरणार्थीप्रति उनको नरम नीतिका कारण करिब १० लाख शरणार्थी गत दुई वर्षभित्र जर्मनी प्रवेश गरेका छन् र उनका विरोधीहरूले यसैलाई पूँजीकृत गर्ने प्रयास गर्नेछन् । जर्मन युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र हो ।

मर्केलले सीडीयुलाई १६ वर्षसम्म नेतृत्व प्रदान गरेकी छन् र उनले हेल्मुट कोललाई पदमुक्त गरेकी थिइन् ।

हाल सीडीयुले सोसियल डेमोक्र्याट्सका साथै अन्य अनेकौँ साना दललाई सत्ता साझेदार बनाएको छ ।

सन् २०१४ मा उनले पार्टीभित्र ९६.७ प्रतिशत मत प्राप्त गर्नुभएको थियो भने सन् २०१२ मा ९७।९ प्रतिशत मत प्राप्त गरेकी थिइन् ।

यस महासभामा उनका प्रतिस्थापकहरूको पनि नाम अगाडि आएका छन् तर तीनले व्यापक सार्वजनिक छबि बनाउन सकेका छैनन् ।

प्रायः जर्मन नागरिक अझै पनि मुटी (आमा) नाम प्राप्त गरेकी चान्सलर मर्केलसँग सजिलो अनुभव गर्छन् । हालै गरिएको एक सर्वेक्षणमा ६४ प्रतिशतले उनको नयाँ उम्मेदवारीलाई समर्थन गरे भने ३३ प्रतिशतले विरोध गरे ।

बर्लिनको फ्री युनिभर्सिटीका राजनीतिक विश्लेषक हाजो फन्कले मर्केलले पार्टी तथा मुलुकको स्थायित्वका लागि सही निर्णय गर्नुभएको बताएका थिए भन्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।