विशेष

वीपीलाई यसरी झुक्याएर पक्राउ गरेको थियो सेनाले, टुप्लुक्क सेना पुगेपछि यस्तो देखियो दृष्य !

काठमाण्डौ । आज पुस १ गते । नेपालको राजनीतिक इतिहासमा यो दिनलाई लोकतन्त्र र गणतन्त्रवादीहरुले कालो दिनका रुपमा लिने गर्दछन् भने राजतन्त्र र त्योसँग जोडिएका राष्ट्रवादीहरुले सुनौलो दिनको रुपमा लिने गर्दछन् । यसबेला पुस १ गतेलाई नेपालीहरुले कालो दिनका रुपमा मनाउने गर्दछन् । राजावादीहरुले भने तत्कालीन राजा महेन्द्रले चालेको कदम सुनौलो युग थालनी थियो भन्दै समीक्षा गर्ने गर्दछन्, तर पुस १ गते समय सापेक्ष राजनीतिक परिवर्तन चाहाने परिवर्तनका पक्षधरहरुले भने कालो दिनकै रुपमा लिने गर्छन् ।

२०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले वीपी कोइरालाको नेतृत्वको रहेको जननिर्वाचित सरकारलाई अपदस्थ गरी निरंकुश पञ्चायती व्यवस्थाको थालनी गरेका थिए । राजा महेन्द्रले तत्कालीन सरकारले जनताको मनोभावना विपरित काम गरेको आरोप लगाउँदै सो कदम चालेका थिए ।

वि.सं.२००७ सालदेखि २०१५ सालसम्मको राजनीतिक संक्रमणबाट फाइदा उठाउँदै राजा महेन्द्रले आफ्नो हातमा शासनसत्ता लिन सफल भएका थिए । नेपालको राजनीतिक इतिहासमा पहिलो जननिर्वाचित प्रधानमन्त्रीको रुपमा उदाएका वीपीले चाल्ने जनपक्षीय कदम र त्यसले राजतन्त्रमाथि हुने सम्भावित खतराको संकेत देखेर महेन्द्रले सो कदम चालेको जानकारहरु बताउँछन् । राजा महेन्द्रको सो कदमपछि मुलुकले ३० वर्ष पञ्चायतकालीन शासन व्यवस्थाबाट गुज्रनु परेको थियो ।

यसरी पक्राउ परेका थिए वीपी कोइराला
नेपाली कांग्रेसको नेतृत्व गर्दै सँधैझै राजनीतिक गतिविधिमा व्यस्त भैरहने वीपी कोइराला २०१७ साल पुस १ गते पनि आफ्नै पार्टी निकट भातृसंगठनको एउटा महत्वपूर्ण कार्यक्रममा सहभागी भैरहेका थिए । पार्टीको सो भातृसंगठनको त्यसैदिन पहिलोपटक महाधिवेशन हुँदै थियो । नेपाल तरुण दल नाम राखिएको सो संगठनको प्रथम महाधिवेशनको काठमाण्डौको थापाथलीमा उद्घाटन हुँदै थियो । नेता वीपी पनि सोही कार्यक्रममा उपस्थित थिए । प्रधानमन्त्री समेत रहेका वीपीलाई त्यसबेला ठूलो जनसमर्थन थियो । सोही कार्यक्रममा एक्कासि शाही नेपाली सेनाका कमाण्डरहरु देखापरे ।

दुई तिहाइ बहुमत प्राप्त दलका प्रधानमन्त्री तरुण दलको कार्यक्रममा भाग लिइरहेका बेला दिउँसो साढे ११ बजे शाही सेनाका लेफ्टिनेन्ट जनरल सुरेन्द्रबहादुर शाह र ब्रिगेडियर जनरल समराज कुँवर नेतृत्वको टोलीले कार्यक्रमस्थलमै पुगेर ‘महाराजधिराजबाट तुरुन्त आउनू भन्ने बोलावट भएको छ’ भन्दै प्रधानमन्त्री वीपी कोइराला, गृहमन्त्री सूर्यप्रसाद उपाध्याय, निर्माणमन्त्री गणेशमान सिंह र सभामुख कृष्णप्रसाद भट्टराईलाई सभास्थलबाटै लिएर गए ।

त्यसपछि सभामुख, प्रधानमन्त्री, गृहमन्त्री सबैलाई ‘तपाईहरु हिरासतमा हुनुहन्छ’ भन्ने जानकारी गराइयो । केही मन्त्री र उपमन्त्रीहरु थापाथलीको सभास्थलबाटै भागे भने केही पक्राउ परे । उपप्रधानमन्त्री सूवर्णसमशेर उपचारको बाहनामा केही दिन अगावै भारतको कोलकाता गएका थिए । भरतसमसेर जबरा र बेनीबहादुर कार्कीले विदेश जान टिकट काटेका थिए, तर उनीहरु राजाको दर्शनका लागि दरबार जानेक्रममा दरबार अगाडिबाट समातिए ।

सभासम्मेलन गर्न नपाउने भनी गृहमन्त्रालयका नाममा विज्ञप्ति जारी भयो । राजदरबार अगाडिको सडकमा पुस १६ सम्म कफ्र्यू लगाइयो । नेताहरुको गिरफ्तारीलाई व्यापक बनाइयो । थापाथलीको कार्यक्रमबाट कसैले प्रतिरोध गर्ने साहास गरेनन् किनभने त्यसबेला राजाहरुको निरंकुशताको जगजगी थियो । वीपी र उनका मन्त्रीहरुलाई कब्जामा लिएर जाँदै गर्दा सबैले हेरेर बस्नुबाहेक केही उपाय भएन ।

यस्तो थियो राजा महेन्द्रले गरेको शाही सम्बोधन
प्रधानमन्त्री र मन्त्रीहरुलाई पक्राउ गरिसकेपछि तत्कालीन राजा महेन्द्रले दिउँसो साढे ३ बजे नारायणहिटीबाट देशबासीका नाममा सम्बोधन गरे । उनको सम्बोधनमा भनिएको थियो:

‘आगे प्यारा प्रजा गैह्र के यथोचित
जनताले छानेका प्रतिनिधिहरुले नै देशप्रति ज्यादा जिम्मेवारी महसुस गरी प्रजातन्त्रको जग मजबुद हुने वातावरण पैदा गर्दछ र देशमा स्थिरता आई विकास द्रुत गतिले हुन्छ भन्ने विश्वास लिई करिब दुई वर्षअघि देशमा आम चुनाव गराएको सबैमा विदितै छ । फलस्वरुप नेपाली कांग्रेस बहुमतमा आयो र जनताको विश्वास प्राप्त गरेको पार्टीलाई नै संविधान अनुसार शासनभार सुम्पी देशप्रतिको जिम्मेवारीको हिस्सेदार बनाउन पाउँदा अत्यन्तै सन्तोष लाग्नुको साथै केही वर्षदेखि देशमा भएको अस्थिरताले हामीमा पैदा गरेको चिन्ता हटाउनु पनि स्वभाविकै कुरा भएको थियो ।

त्यसपछि देशमा घटेको परिस्थितिको अध्ययन गरी हामीबाट समय-समयमा जनप्रतिनिधिहरु र सरकारमा रहेका व्यक्तिहरुलाई समेत कर्तव्यबाट च्युत नहुने संकेत गरेको कुरा पनि सबैले बुझेकै हुनुपर्छ । प्रजातन्त्र पद्दतिअनुसार छानिएका प्रतिनिधिहरुद्वारा जनता र सरकारको वीचमा भएको भ्रमात्मक वातावरणसमेत सुल्झाई राष्ट्रको हित र विकास गर्ने पूरा कोसिस हुनेछ भन्ने सबैले आशा एवं विश्वास राखेका थिए, तर ठीक त्यसको उल्टो प्रजातन्त्र पद्धतिको आडमा राष्ट्र र जनतालाई एकातिर पन्छाई व्यक्तिगत र दलगत स्वार्थपूर्ति गर्नका लागि अधिकार प्रयोग गरियो ।

ऐन कानूनको मर्यादा नराखी छिटो छरितो र योग्य बनाउने नाममा यो मन्त्रिमण्डलले देशको प्रशासनयन्त्र निश्त्रिmय र आधारहीन बनाउने चेष्टामा लाग्यो । अधिकार दुरुपयोग हुँदा भ्रष्टाचार बढ्नुको साथै अनेकानेक भ्रान्ति पैदा गराई प्रशासनयन्त्रमा पनि शिथिलता उत्पन्न भई देशमा शान्ति सुरक्षा कायम राख्न यो मन्त्रिमण्डल विल्कुल असमर्थ भएकोले र अराष्ट्रिय तत्वहरुले धेरै मात्रामा प्रोत्साहन पाई राष्ट्रिय एकतामासमेत बाधा पुर्या उने वातावरण आउन लागेको पनि कसैमा नछिपेको तथा वैत्रानिक विश्लेषण र वस्तुस्थितिको अध्ययनविना कोरा सिद्धान्तका आधारमा उठाइएको आर्थिक कमदहरुले समाजमा चाहिने परिवर्तनको सट्टा जनतामा अशान्त र दुषित वातावरण मात्र पैदा गरेकोले, राष्ट्रको हित तथा प्रजातन्त्रकै निमित्त पनि देशमा यस्तो स्थिति धेरै समयसम्म रहन दिनु उचित नभएकोले देशको एकता, राष्ट्रियता र सार्वभौमिकता बचाउने, देशमा अमनचैन कायम राख्ने र देशलाई कुनै कारणबाट पनि बिग्रँदो स्थितिबाट बचाउने अन्तिम जिम्मेवारी पनि हामीमै भएकोले, उपरोक्त वातावरण हटाई शान्ति सुरक्षा कामय राख्ने र देशलाई संक्रमण स्थितिबाट बचाउन विशेष व्यवस्थाको जरुरत पर्न आएकोले तथा देश र जनताको हितलाई मात्र ध्यानमा राखी संविधानको धारा ५५ को अधिकार प्रयोग गरी यो मन्त्रीमण्डल र संसद्का दुबै सदनहरुसमेत हामीबाट आज यो घोषणाद्वारा विघटन गरिबक्सेका छौं । कुनै नयाँ व्यवस्था गर्न केही समय लाग्ने हुँदा अर्को व्यवस्था नभएसम्म मुलुकको शासनभार हामीबाटै स्वयं ग्रहण गरिबक्सेका छौं ।

इतिहासबाट पाठ सिक्नुपर्छ
वीपीलाई तत्कालीन शाही सरकारले पक्राउ गरेको केही वर्षपछि छाडिए पनि मुलुकले भने ३० औं वर्षसम्म पञ्चायतकालीन व्यवस्थामा रहनुपरेको थियो । राजनीतिक संक्रमणमा थोरै पनि गडबडी हुँदा कस्तो स्थिति आइलाग्छ भन्ने कुरा अहिलेका राजनीतिक दल र त्यसका नेताहरुले समेत बुझ्न जरुरी छ ।

मुलुकको पछिल्लो अवस्था पनि नयाँ संविधान जारी भएपछिको निकै संवेदनशील अवस्थाबाट गुज्रिरहेको छ । संविधान कार्यान्वयन हुनै नदिने शक्तिहरु पर्दा पछाडिबाट खेल खेलिरहेका छन् । यो बेलामा पनि निकै सतर्क हुन जरुरी छ । इतिहासमै पहिलोपटक जनताबाट निर्वाचित प्रतिनिधिको रुपमा सरकारको नेतृत्वमा पुगेका वीपीको जस्तै हविगत अहिलेका राजनीतिक दल र त्यसको नेतृत्व गरिरहेका नेताहरु भोग्न नपरोस् भन्ने कुरामा उनीहरु सचेत र इमान्दार हुन जरुरी छ ।

पछिल्ला दिन राजनीतिक दल र त्यसका नेताहरुको रवैया देख्दा जनतामा निराशा छाउन थालेको छ । यसले मुलुकको राजनीतिक भविष्यको सुःखद संकेत गरेको देखिदैन । त्यसैले पुस १ गतेलाई कालो दिनका रुपमा मात्र मनाउने होइनकि त्यसबाट पाठ समेत सिक्न जरुरी छ, यो दिनबाट सबै पक्षले इतिहासको समीक्षा गर्दै प्रगतितर्फ लम्किन पाठ सिक्नुपर्ने राजनीतिक विश्लेषकहरु बताउँछन् ।