राजनीति

माओवादी नेता नारायणकाजी श्रेष्ठले खोले आफ्नै रहस्य, प्रचण्डले यसकारण पठाएका रहेछन् भारत ! (तस्वीरसहित)

काठमाण्डौ । नेपालको पछिल्लो राजनीतिक अवस्था निकै पेचिलो ढंगबाट अघि बढिरहेको छ । अघिल्लो केपी ओली नेतृत्वको सरकार ढलेसँगै वर्तमान पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई सुरु देखिनै भारतीय इशारामा निर्माण भएको र चलेको आरोप लाग्ने गरेको छ । यद्यपि, सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री दाहाल र उनको पार्टीले यसलाई ठाडै अस्वीकार गर्दै आइरहेका छन् । तर पछिल्लो समयमा देखिन थालेका सो पार्टीको नेतृत्व गरिरहेका नेताहरुको भारतीय नेतासँग निकै घनिष्ठ सम्बन्ध र उठबसले यसलाई फिका सावित गरिदिएको छ । कुनै पनि सरकारको नेतृत्व गरिरहेको व्यक्तित्व र पार्टीले छिमेकी मुलुकहरुसँग घनिष्ठ सम्बन्ध राख्नु स्वाभाविक कुरा पनि हो, यो कुटनीतिक मर्यादाभित्र पनि पर्छ तर छिमेकी देशनै आफुविरुद्ध प्रत्यक्ष–अप्रत्यक्ष रुपमा षडयन्त्र गरिरहेको हुन्छ भने उसबाट सजग हुनु अनिवार्य शर्त हुन जान्छ ।

पछिल्ला वर्ष भारतले नेपालविरुद्ध गरेका गतिविधिबाट आम नेपाली जनताले दुःख र कष्ट ब्यहोर्नुपरेको छर्लङ छ । त्यसैले पनि सरकारको नेतृत्व गरिरहेका व्यक्तित्व र पार्टीले त्यो खालको छिमेकीबाट सजग हुन जरुरी छ । तर पुष्पकमल दाहाल नेतृत्वको सरकार र त्यसको नेतृत्व गरिरहेका उनी र उनका नेताहरु सरकारकै इशारामा बेला बेलामा भारतीय संस्थापन पक्षीय नेताहरुसँग सल्लाह लिन पुगिरहेको पुष्टि हुँदै गएको स्पष्ट देखिएको छ । सरकार निर्माण गर्दादेखि नै भारतीय इशारामा चलेको भन्ने आरोपको प्रधानमन्त्री दाहाल र उनको इशारामा चल्ने नेताहरुले यसबेला भने ती सबै कुराको पुष्टि गरेका छन् । यो कुरा पछिल्लोपटक भारत पुगेर आएका माओवादी केन्द्रका नेता नारायाणकाजी श्रेष्ठले पुष्टि गरिदिएका छन् ।


केही दिनअघि प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी ओलीलाई आफ्नो निवासमा भोजन गराएर गम्भीर वार्ता गराउन सफल भएका नेता श्रेष्ठ त्यसको भोलिपल्टै दिल्ली उडेका थिए । अखिल भारत नेपाली एकता समाजको कार्यक्रममा अतिथिको रुपमा सम्बोधन गर्न गएको बताइए पनि उनले त्योबेला भारतीय सत्ता पक्षका नेताहरुसँग गम्भीर वार्ता भएको बुझिएको छ । उनले यो कुराको पुष्टि आफैले गरेका छन् । समाजिक सञ्जाल फेसबुकमार्फत उनले कुन–कुन भारतीय नेता र बुद्धिजीविहरुसँग भेटे भन्ने कुराको समेत पुष्टि गर्नुले नेपालको आन्तारिक राजनीतिक समीकरण बदलिने हो कि भन्ने संकेत समेत देखापर्न थालेको छ । नेता नारायणकाजी श्रेष्ठले भेटका क्रममा भारतीय सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी अर्थात भारतीय जनता पार्टी र भारतमा चर्को प्रभाव रहेको भारतीय कंग्रेसका नेताहरुसँग समेत भेट गरेका तस्वीरहरु समेत आफ्नो फेसबुक अकाउन्टमा अपलोड गरेका छन् ।

यसबाट उनी आफैले एउटा रहस्यको पाटो खोलिदिएको जानकारहरु बताउँछन् । यद्यपि, उनले भारतको हाइ प्रोफाइलका नेताहरुसँग भएको गोप्य भेटका सवालमा भने कुनै कुरा बाहिर ल्याएका छैनन् । नेपालमा जब–जब महत्वपूर्ण राजनीतिक घटनाक्रमहरु सुरु हुन्छन् तब–तब नेपाली नेताहरुले भारतसँग सल्लाह लिनु कुनै नौलो कुरा नभएपनि पछिल्ला वर्ष भारतप्रति नेपाली जनतामानै यति ठूलो वितृष्णा आइरहेको बेलामा पनि खुल्लेआम सल्लाह लिएर सत्ता र सरकार चलाउनुचाहि ३ करोड नेपालीहरुमाथिको निकै ठूलो अन्याय भएको एकथरी विश्लेषकहरुको भनाई छ । दुई दशकपछि नयाँ संविधान जारी भएपछि पहिलोपटक हुन लागेको स्थानीय निकायको निर्वाचन र अन्य दुई ठूला निर्वाचनको मुखमा फेरि भारतले डेढ वर्षअघिकै जस्तो अनौठो अडान लियो भने त्यसलाई अनौठो रुपमा नलिए हुन्छ, जानकारहरुको भनाई छ ।