समाचार

३५ वर्षको उमेरमा १८ औं पटक सुत्केरी

बैतडी  ।  नगरपालिका भएर पनि विकासका कुनै कार्यक्रम पुग्न सकेका छैनन् यो ठाउँमा, विपन्नतामा बाँचेको परिवारले देवकी त्रिवालाई कलम समात्ने अवसरसम्म दिन सकेन । १५ वर्षमै विवाह र महिना दिनमै गर्भवती बन्नु नियमजस्तै बने उहाँका लागि । देवकीले बर्सेनि जन्माएका शिशुहरूको निसास्सिएर र कठ्यांग्रिएर ज्यान गयो । कतिपय कुपोषणको सिकार भए । लगातार १५ शिशुको ज्यान जाँदा पनि देवकीले फेरि गर्भवती हुनुपर्‍यो । १६ औं पटकमा जन्मिएकी छोरी बाँचिन् तर परिवार खुसी भएन ।

मंगलबारको अन्नपूर्णमा लेखिएको छ, १७ औं पटकमा बल्ल छोरा जन्मियो । परिवारमा खुसी छायो । अझै छोराको चाहना मरिसकेको थिएन तर अठारौंपटक फेरि छोरी नै जन्मिइन् । जुन स्याहार, हेरचाह र खाना देवकीलाई छोरा जन्माउँदा मिलेको थियो, छोरीको पालामा त्यो मिलेन । ‘मलाई बाँचुन्जेल यस्तै यातना सहन लेखेको रहेछ । म मरेपछि श्रीमान्ले अर्की ल्याइहाल्छन्, कसलाई के को पीर छ र !’

देउता खुसी पार्न यातना
कलिलै उमेरमा विवाह र निरन्तर गर्भवती हुनुको पीडा खपिसाध्य छैन । त्यसमाथि देउता खुसी पार्ने नाममा दिइने यातनाले देवकी शारीरिक र मानसिक रूपमा कमजोर बन्दै छिन् । सुत्केरी भएको चार दिनमा उनलाई गोठको कुनाबाट घरको कुनामा सारिन्छ । गर्भवती भएको ६ महिनादेखि बच्चा पाएको २२ दिनसम्म उनलाई परिवारका कुनै सदस्यले छुँदैनन् । भुटेको भात खान पाउनुलाई पनि भाग्यमानी सम्झिनुपर्छ । पीडाका बेला आफ्ना मान्छे झन् टाढा हुँदा देवकीको मन भक्कानिन्छन् । ३५ वर्षमा १८ पटक सुत्केरी भएकी देवकीको आँखा नरसाएका दिन छैनन् । गर्भवती र सुत्केरीलाई देवीदेवताको मन्दिर भएको बाटो नै हिँड्न दिँदैनन् स्थानीय । त्यो पीडा देवकीले निरन्तर भोग्नुपरेकै छ किनकि धेरैजसो स्वास्थ्य संस्थासमेत देवीदेवताकै आसपास छन् ।

गर्भवती होस् या सुत्केरी, पर्याप्त पोषिलो र तागतिलो खाना खानुपर्छ । त्यसले आमा र बच्चा दुवैको जीवन स्वस्थ बनाउँछ । तर, देवकीलाई दूध, दही, हरियो सागसब्जी, फलफूल, गेडागुडीको झोलजस्ता पोषिलो खाना दिइँदैन । ‘बच्चा मरेको मर्‍यै भए । अस्पताल जाँदा पनि केही भएन । वैद्यकहाँ धाउँदाधाउँदा बल्ल एउटा छोरो जन्मियो । आमालाई दूध-दही, हरियो-परियो दियो भने त्यो पनि मर्छ’, पति घनश्यामले भने,, ‘पाप हुने काम गर्नुहुन्न । यो हाम्रो समाजको नियम हो ।’

भयमा महिला
सुत्केरी भएपछि पाउने यातनाले आजित भए पनि यहाँका महिला त्यसको विरोधमा उत्रिन सक्दैनन् । विरोध गर्‍यो भने उल्टै परिवारबाट निकालिने, अपहेलित हुने वा श्रीमानले अर्को विवाह गर्ने भय उनीहरूमा छ ।