शिक्षा

एसइई परीक्षामा उत्कृष्ट विद्यार्थीलाई १ लाख २० हजार पुरस्कार

२३ जेठ, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) मा उत्कृष्ट हुने विद्यार्थीलाई नगद १ लाख २० हजार पुरस्कार वितरण गरिएको छ ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ पिप्लेका समाजसेवी कमल शाहीले एसइई परीक्षा २०८२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद पुरस्कार प्रदान गर्नुभएको हो ।

रघुगङ्गा गाउँपालिका–२ र ३ राखुमा सञ्चालित तीन सामुदायिक विद्यालयबाट एसइई परीक्षा २०८२ मा ए प्लस ग्रेड ल्याउनेलाई जनही रु १० हजार र ए ग्रेड ल्याउनेलाई जनही रु पाँच हजार पुरस्कार प्रदान गरिएको हो ।

यस वर्ष रघुगङ्गा माविबाट ए प्लस ग्रेड ल्याउने एक जना र ए ग्रेड ल्याउने सात जना, मुक्तिधाम माविबाट साधारण र प्राविधिक धारतर्फ ए प्लस ग्रेड ल्याउने तीन जना र ए ग्रेड ल्याउने ६ जना, ज्ञानोदय माविबाट ए ग्रेड ल्याउने एक जना र दृष्टिविहिन दुई जनालाई नगद पुरस्कार प्रदान गरिएको हो ।

शाहीले यस वर्ष ए प्लस ग्रेड ल्याउने चार जनालाई जनही रु १० हजार र ए ग्रेड ल्याउने १४ जना तथा दुई दृष्टिबिहीन गरी १६ जनालाई जनही रु पाँच हजारका दरले प्रोत्साहन पुरस्कार प्रदान गर्नुभएको हो । विगत पाँच वर्षदेखि एसइई परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई उहाँले पुरस्कार वितरण गर्दै आउनुभएको छ । उहाँले चार जिपिए ल्याउने विद्यार्थीलाई जनही रु ५० हजार पुरस्कार दिने घोषणा गर्नुभएको थियो ।

मुक्तिधाम माविका विद्यार्थीलाई सोही विद्यालयमा पुरस्कार वितरण गरिएको छ भने ज्ञानोदय मावि र रघुगङ्गा माविका विद्यार्थीलाई रघुगङ्गा मावि पिप्लेमा पुरस्कार वितरण गरिएको हो । पिप्लेमा आयोजित कार्यक्रममा रघुगङ्गा गाउँपालिका–३ का वडाध्यक्ष खिमबहादुर शाही, रघुगङ्गा माविका व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ शर्मा र प्रधानाध्यापक रमेशसिंह ठकुरीले पुरस्कार वितरण गर्नुभयो ।

सोही अवसरमा शाहीले आफ्नो बुबाको सम्झनामा रघुगङ्गा माविमा स्थापना गर्नुभएको रु ६ लाख ११ हजार राशिको देवबहादुर शाही अक्षयकोषबाट रघुगङ्गा माविका सबै कक्षाका विद्यार्थीलाई विभिन्न विधातर्फ पुरस्कृत गर्नुभएको थियो ।