शिक्षा

चिकित्सा शिक्षा विधेयकः मन्त्री र संसदीय समितिबीच छलफल हुने

काठमाडौँ । सरकारी वार्ता टोली र अनशनरत प्रा डा.गोविन्द केसी पक्षबीच आज भएको वार्तामा चिकित्सा शिक्षा विधेयकबारे सम्बन्धित मन्त्री र संसदीय समितिबीच थप छलफल गर्ने समझदारी भएको छ ।

आजको वार्तामा उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले केसीको प्रमुख मागको विषय बनेको चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा छलफल गर्न बृहत् छलफलका लागि स्वास्थ्यमन्त्री र संसदीय समितिका सभापतिसँग मंगलबार बैठक आयोजना गर्ने समझदारी भएको बताए ।

सो छलफलका लागि स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, व्यवस्थापिका–संसद्, महिला बालबालिका ज्येष्ठ नागरिक समाजका सभापति रञ्जुकुमारी झा, तत्कालीन माथेमा आयोगको प्रतिवेदन तयारीमा मुख्य भूमिका खेल्ने पदाधिकारीसहितको बैठक मंगलबार बस्ने शिक्षा मन्त्रालयका सहप्रवक्ता सरस्वती पोखरेलले जानकारी दिए ।

केसी पक्षका वार्ता टोली सदस्य डा.अभिषेकराज सिंहले सोमबारको वार्तामा मुख्य विषय चिकित्सा शिक्षा विधेयक र त्रिविका दुई पदाधिकारी बर्खास्त गर्ने विषयमा छलफल नभएकाले मंगलबारका लागि वार्ता स्थगन गरिएको जानकारी दिए। चिकित्सा शिक्षा विधेयक पारितलगायत चिकित्सा शिक्षा सुधारको माग राख्दै केसी यही साउन ९ गतेदेखि शिक्षण अस्पताल महाराजगन्जमा ११ औँ आमरण अनशनमा रहेका छन् ।